सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ९ वर्षीय बालकलाई बाँधेर कुटपिट गर्ने व्यक्ति पक्राउ

२०८३ वैशाख १८, ०४:१७ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोल्खरीमा ९ वर्षीय बालकलाई हातखुट्टा बाँधेर कुटपिट गर्ने ३६ वर्षीय भोज नाथलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो भाइरल भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार नाथले काक्रा चोरेको आरोपमा बालकलाई बाँधेर निर्घात कुटपिट गरेका हुन्। घटना बुधबार दिउँसो भएको बताइएको छ। पीडित पक्षले नाथविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन्।

बेदकोट–३ दैजी घर भएका बालकका आमाबुवा रोजगारीका लागि भारतमा रहेका छन्। बालक हाल पोल्खरीस्थित मामा घरमा बस्दै आएका थिए, जहाँ उनकी हजुरआमाले रेखदेख गरिरहेकी थिइन्।

घाइते बालकलाई महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कञ्चनपुरका सूचना अधिकारीले जानकारी दिएका छन्।
 

कमेन्ट लोड गर्नुस