सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशैभर बदली: यी प्रदेशमा भारी वर्षाको चेतावनी

२०८३ वैशाख २१, ०७:०९ खबर संवाददाता

जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने प्रक्षेपण गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकभर साधारणतया बादल लाग्ने र धेरैजसो क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना छ। विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

लुम्बिनी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा असिनासहितको वर्षा र हिमपात हुने देखिएको छ। तराईका केही क्षेत्रमा भने तीव्र गतिको हावाहुरी चल्ने अनुमान गरिएको छ।
आज राति पनि मौसममा सुधार हुने देखिँदैन। देशभर बादल लाग्ने क्रम जारी रहने र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ। रातिको समयमा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको छ।

हावाहुरी, चट्याङ र भारी वर्षाले दैनिक जनजीवन तथा यातायातमा असर पार्न सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। पहाडी तथा हिमाली भेगमा हिमपात र तराईमा हावाहुरीको जोखिम रहेकाले सुरक्षित रहन सुझाव दिइएको छ।

कमेन्ट लोड गर्नुस