सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि आज निर्वाचन

२०८३ वैशाख २२, १०:११ खबर संवाददाता

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ।

उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९–३० गते हुनुपर्ने साधारण सभाको सोमबार उद्घाटन सत्र भएको थियो। महासङ्घमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेकाले वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वत अध्यक्ष हुने छन्।

महासङ्घको २०८१ को संशोधित विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष मतदान हुने छैन। त्यस्तै वरिष्ठ उपाध्यक्ष निर्वाचित कार्यसमितिबाट चयन गरिनेछ। अहिले उपाध्यक्ष र कार्यसमिति सदस्यमा मात्र निर्वाचन हुनेछ। यसैअनुसार यसपटक वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले भावी अध्यक्षका रूपमा महासङ्घको नेतृत्व गर्ने भएका छन्। बाँकी ४ उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुनेछ।

आज नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाचनका लागि ७३ पदाधिकारीका लागि १३७ व्यवसायी चुनावी मैदानमा उत्रिएका छन्। महासङ्घमा जिल्ला–नगर, वस्तुगत र एसोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ।

यस निर्वाचनमा वर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ समुहले प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन समितिले आज बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने र उक्त निर्वाचनमा २ हजारभन्दा बढीले मतदान गर्ने जानकारी दिएको छ।

साथै निर्वाचनको नतिजा बुधवार मात्रै घोषणा हुने बताएको छ। चार उपाध्यक्षमा जिल्ला नगरबाट २, एसोसिएटबाट १, वस्तुगत १ उपाध्यक्ष निर्वाचित हुने छन्। त्यस्तै महासङ्घमा एसोसिएसटतर्फ १ हजार ८५०, जिल्ला नगरतर्फ १२९, वस्तुगत सङ्घमा १०७, वस्तुगत महासङ्घमा १७, द्विराष्ट्रिय ८ र संस्थापकतर्फ १२ जना मतदाता रहेका छन्।

कमेन्ट लोड गर्नुस