दलको झण्डा र झोला निषेध, प्रणाली सुधारका लागि कठोर निर्णय लिएको प्रधानमन्त्रीको टिप्पणी
काठमाडौँः प्रधानमन्त्री बालेन शाहले शिक्षालय र कर्मचारीतन्त्रमा मौलाउँदै आएको दलगत प्रभाव अन्त्य गर्न स्पष्ट र कठोर निर्णय आवश्यक भएको बताएका छन्। उनले लामो समयदेखि उठ्दै आएको 'विद्यार्थी र कर्मचारीतन्त्र पार्टीकरणले बिग्रियो' भन्ने जनगुनासोलाई सम्बोधन गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री शाहका अनुसार वर्षौंदेखि विद्यार्थी र कर्मचारी संगठनहरू आफ्ना सदस्यहरूको हितभन्दा बढी राजनीतिक दलका 'स्लिपर सेल' जस्ता संरचनामा रूपान्तरण भएका छन्। योग्यता र क्षमताभन्दा पहुँच, झोला र झण्डाको प्रभाव बढ्दा समग्र प्रणालीप्रति जनविश्वास कमजोर बनेको उनको भनाइ छ।
उनले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत प्रभाव हटाउने कदम कुनै कमजोरी वा संगठन निर्माण गर्न नसक्ने अवस्थाका कारण नभएको स्पष्ट पारेका छन्। 'अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ,' उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
प्रधानमन्त्री शाहले अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलगत झोला निषेध गरिनुपर्नेमा जोड दिएका छन्। यसले अधिकार हरण नगरी बरु पेशागत स्वतन्त्रता सुदृढ गर्ने उनको दाबी छ। साथै, नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता हुनुपर्ने उनले उल्लेख गरेका छन्।
उनले विद्यार्थीले सभ्यता, विचार र जिम्मेवारीसहितको राजनीति सिक्नुपर्ने तथा कर्मचारीले कुनै दल होइन, जनताको सेवा गर्नुपर्नेमा जोड दिएका छन्। यो कुनै दलविरुद्धको अभियान नभई प्रणाली सुधार र भविष्य सुरक्षित गर्ने प्रयास भएको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले सबै पक्षबाट साथ र विश्वासको अपेक्षा गर्दै परिवर्तन निर्णयबाट मात्रै सम्भव हुने धारणा व्यक्त गरेका छन्। 'हामी आम जनताको हितमा काम गर्न प्रतिबद्ध छौं,' उनले भनेका छन्।