अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह
कञ्चनपुरः जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक अतिक्रमण हटाउने योजना तयार पार्न यहाँका स्थानीय तह तथा सरकारी कार्यालयलाई आग्रह गरेको छ।
शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यहाँका नौ वटै पालिका र सरकारी कार्यालयलाई पत्राचार गर्दै सार्वजनिक जग्गाको पहिचान गरेर यथार्थ विवरण सङ्कलनका साथै अतिक्रमण हटाउने योजना तयार पार्न आग्रह गरेको हो। कञ्चनपुरमा सार्वजनिक जमिनको संरक्षण र अभिलेख व्यवस्थापन गर्नका लागि सार्वजनिक जमिन पहिचानको कार्य अगाडि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले बताए।
गृह मन्त्रालयको वैशाख १६ गतेको पत्र अनुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनका सम्बन्धमा उहाँले जिल्लास्थित नौ वटै स्थानीय तह तथा सरकारी कार्यालयको कार्यक्षेत्रभित्र पर्ने अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको यथार्थ विवरण सङ्कलन र अतिक्रमण हटाउने योजना तयार गरी यथाशीघ्र उपलब्ध गराउन आग्रह गरिएको बताए।
कञ्चनपुरका वनक्षेत्रमा मात्रै अनुमानित छ हजार हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको डिभिजन वन कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी सुवास कुँवरले वनक्षेत्रमा अतिक्रमण बढ्दो क्रममा रहेको बताए। उनले विशेष गरेर बाढीपीडित, आरक्षपीडित, प्राकृतिक प्रकोपका नाममा अतिक्रमण हुँदै आएको बताए। उनका अनुसार यहाँस्थित ब्रह्मदेव, खल्ला मसेट्टी, वेदकोट नगरपालिकास्थित पोलखरी, शुक्लाफाँटा नगरपालिकाको पिल्लारीफाँट, कृष्णपुर र देखतभुली वनक्षेत्रमा जमिन अतिक्रमणको चपेटामा परेको छ। उहाँले कतिपय वनक्षेत्रमा स्थानीय तहकै सहयोगमा पनि वन अतिक्रमण हुँदै आएको पाइएको बताए।