सुदूर नेपाललाई विश्वसँग जोड्दै

 विश्वविद्यालयहरूमा उपकुलपति सिफारिस गर्नका लागि सिफारिस समिति गठन

२०८३ वैशाख २३, ०५:२५ खबर संवाददाता

काठमाडौं: विश्वविद्यालयहरूमा उपकुलपति सिफारिस गर्नका लागि सिफारिस समिति गठन भएको छ । प्रधानमन्त्री बालेन शाहले शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेका हुन् । समितिको सदस्यमा शिक्षा सचिव र योजना आयोगको शिक्षा हेर्ने सदस्य रहेका छन् ।

‘प्रधानमन्त्रीज्यूले शिक्षामन्त्रीको अध्यक्षतमा समिति गठन गर्नुभएको छ । अब प्रक्रिया अगाडि बढ्छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘उपकुलपति आह्वानको लागि भोलिसम्ममा सार्वजनिक सूचना जारी हुन्छ ।’

सरकारले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्ने जनाएको छ ।

नाम छनोट गर्न विज्ञ समिति पनि बनाउने तयारी रहेको शिक्षा मन्त्रालय निकट स्रोतले बताएको छ । विज्ञको टिमले नाम छनोट गरेर शिक्षामन्त्रीको अध्यक्षतामा गठिन समितिलाई पेस गर्नेछ । मेरिटको आधारमा प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न लागिएको हो ।

‘विधि र प्रक्रियाबारे छलफल जारी छ । सार्वजनिक सूचनासँगै छनोटको विधि पनि आउँछ,’ मन्त्रालयका ती अधिकारीले भने । त्यस्तै, तत्कालका लागि भने विश्वविद्यालयहरूमा निमित्त उपकुलपति तोक्ने सरकारको तयारी छ । सरकारले अध्यादेशमार्फत सबै विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गरेपछि नयाँ उपकुलपति चयन प्रक्रिया अगाडि बढाएको हो ।

 

कमेन्ट लोड गर्नुस