निर्माण व्यवसायी संघ कैलाली निर्वाचनमा ई. किरण रावल द्वारा महासचिव पदमा उम्मेदवारी दर्ता
संघको निर्धारित कार्यतालिका अनुसार यही वैशाख २४ र २५ गते हुने चुनावी साधारण सभालाई लक्षित गर्दै रावलले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। लामो समयदेखि निर्माण क्षेत्रसँग आबद्ध रावलले व्यवसायीहरूको हकहित, पारदर्शिता र संघको संस्थागत सुदृढीकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताएका छन्।
उम्मेदवारी घोषणा गर्दै रावलले भने, “निर्माण व्यवसायीहरूले भोगिरहेका समस्या समाधान गर्न, नीतिगत सुधार ल्याउन र संघलाई अझ सक्रिय तथा प्रभावकारी बनाउन मेरो उम्मेदवारी हो।” उनले व्यवसायीहरूबीच सहकार्य, एकता र व्यावसायिक मर्यादा कायम गर्न आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरे।
संघको निर्वाचनलाई लिएर अहिले कैलालीका निर्माण व्यवसायीहरूबीच चुनावी माहोल तातेको छ। विभिन्न पदका लागि आकांक्षीहरू सक्रिय भइरहेका बेला महासचिव पदमा रावलको उम्मेदवारीले प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।
निर्वाचनबाट नयाँ नेतृत्व चयन भएपछि संघले आगामी कार्यदिशा तय गर्नेछ, जसप्रति सम्पूर्ण व्यवसायीहरूको चासो बढेको छ।