सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका मेयर हमालद्वारा सेवा सुविधाको ४४ लाख शिक्षा र समाजसेवामा खर्च

२०८३ वैशाख २५, ११:१३ नारायण अवस्थी

धनगढीः गोपाल हमाल, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख,ले आफूले पाउने पारिश्रमिक तथा सेवा–सुविधा सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएका छन्। मेयरमा निर्वाचित भएदेखि नै सरकारी सुविधा नलिने घोषणा गरेका हमालले हालसम्म प्राप्त सम्पूर्ण रकम शिक्षा, गौ–सेवा र असहायहरूको सहयोगमा खर्च गर्दै आएका छन्।

सोही प्रतिबद्धताको निरन्तरता स्वरूप शुक्रबार हमालले धनगढीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्। विपन्न तथा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको उनले बताए।

आर्थिक वर्ष २०७८–०७९ मा प्राप्त १ लाख ३७ हजार २ सय ७३ रुपैयाँ पूर्ण रूपमा सामाजिक क्षेत्रमा खर्च गरिएको थियो। सो रकममध्ये गौ संरक्षण सेवा समितिलाई ५५ हजार ६ सय ८७ रुपैयाँ र दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई ८१ हजार ५ सय ८६ रुपैयाँ नगद सहयोग गरिएको थियो।

यस्तै आर्थिक वर्ष २०७९–०८० मा प्राप्त ९ लाख ३६ हजार ४ सय रुपैयाँमध्ये २ लाख ६७ हजार ८ सय रुपैयाँ बराबरको न्यानो कपडा सहयोग वितरण गरिएको थियो। उक्त सहयोगबाट दृष्टि फाउन्डेसन, मानव सेवा आश्रम, आमाको माया छात्राबास, खगेन्द्र नवजीवन केन्द्र र दक्षिणकाली विद्यालयका गरी कुल २६९ जना आश्रितहरू लाभान्वित भएका थिए।

आर्थिक वर्ष २०८०–०८१ मा भने कक्षा ८ को वार्षिक परीक्षामा शून्य नतिजा आएका १७ वटा सामुदायिक विद्यालयका ३ हजार ४ सय ८९ जना विद्यार्थीहरूलाई कापी, पेन्सिल, कटर र इरेजरजस्ता शैक्षिक सामग्री वितरण गरिएको थियो। यसका लागि ९ लाख ९२ हजार ६ सय ५ रुपैयाँ खर्च भएको थियो।

चालु आर्थिक वर्ष २०८१–०८२ मा प्राप्त सेवा–सुविधाबाट धनगढीका ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ७ हजार ४ सय ७५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। यस अन्तर्गत करिब १० लाख रुपैयाँ बराबरको स्टेशनरी सामग्री वितरण गरिएको हो। मेयर हमालले प्राप्त गरेको रकमबाट ग्रामीण भेगमा रहेका सबै आधारभूत विद्यालयका स्टेसनरी वितरण गरिएको हो। यस्तै मानव सेवा आश्रम, दृष्टि फाउन्डेसन र बहिरा स्कुलमा लत्ता कपडा वितरण गरिएको छ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुखले प्राप्त गरेको १० लाख रुपैयाँबाट धनगढीका ४२ आधारभूत तथा पाँच नमुना गरी ४७ सामुदायिक विद्यालयका ७ हजार ४७५ जना विद्यार्थीलाई स्टेसनरी सहयोग गरिएको जानकारी दिइएको छ। यस्तै चालु आर्थिक वर्षको प्राप्त सुविधाको रकमबाट स्टेसनरी वितरणको तयारी भइरहेको नगरपालिकाका विज्ञ शिक्षक गणेशप्रसाद भट्टले बताए।

नगर प्रमुख हमालका अनुसार आगामी आर्थिक वर्ष २०८२–०८३ मा प्राप्त हुने सेवा–सुविधाको रकम पनि सामाजिक काममै खर्च गरिनेछ। साथै, थप ५ लाख रुपैयाँ व्यक्तिगत सहयोग गरी कुल सामाजिक योगदान ४४ लाख रुपैयाँ पुर्‍याउने उनको योजना रहेको छ।

हालसम्म नगर प्रमुखको सेवा–सुविधाबाट कुल ३८ लाख ८२ हजार ८ सय ७३ रुपैयाँ प्राप्त भएको छ। जसमध्ये २३ लाख ९७ हजार रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ। बाँकी रकममा समेत उनले व्यक्तिगत तर्फबाट ५ लाख १७ हजार १ सय २६ रुपैयाँ थप गरेका छन्।

सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरूको शिक्षामा पहुँच अभिवृद्धि गर्ने र विभिन्न सामाजिक अभियानहरूलाई सघाउने उद्देश्यले आफूले सुविधा त्यागेर सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको मेयर हमालको भनाइ छ। उनका यस्ता कार्यले स्थानीय तहमा नेतृत्वले लिन सक्ने सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस