डडेल्धुरामा वनजङ्गल अतिक्रमण: ३६३ हेक्टरभन्दा बढी वनभूमि कब्जामा
डडेल्धुराः जिल्लाको कूल भूभागको झण्डै ७५ प्रतिशत वनजङ्गलले ढाकेको डडेल्धुरामा अतिक्रमण बढ्दै गएको छ । मध्य पहाडी जिल्ला डडेल्धुरामा महाभारत पर्वतसँगै चुरे र नदी, खोला किनार बेसिन क्षेत्रहरू रहेका छन ।
डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार वनजङ्गलसँगै महाकाली राजमार्ग छेउछाउको जमिनमा अतिक्रमण बढेको छ । हाल पाँच मिटर चौडा कालोपत्रे रहेको यस राजमार्गको क्षेत्राघिकार दायाँ बाँया २५–२५ मिटर बनाई ५० मिटर फराकिलो बनाउने योजना छ ।
तर राजमार्ग क्षेत्रमा सडक र वनको जमिन अतिक्रमण गरी किनारमै पक्की घरहरू निर्माण गरिएका छन । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार डडेल्धुराको कुल क्षेत्रफल एक लाख ५३ हजार ८०० हेक्टर क्षेत्रफल रहेको छ ।
यसमध्ये एक लाख १५ हजार हेक्टर क्षेत्रफलमा वन फैलिएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार जिल्ला भरिमा हाल ३६३ दशमलब ३८ हेक्टर वनको जमिन अतिक्रमण भएको छ ।
आर्थिक वर्ष २०५५÷०५६ यता मात्रै यो क्षेत्रफल अतिक्रमण भएको पाइएको डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत भीमप्रसाद कडेलले जानकारी दिए। उनका अनुसार जिल्लामा हालसम्म अतिक्रमण गरिएको ४६ दशमलब ३२ हेक्टर क्षेत्रफल हटाइएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ साल यता अतिक्रमण हटाउन सुरु गरिएको थियो । केही दिन अघि मात्रै डडेल्धुराको सिमाना गैराबजार देखि अनारखोली बजारसम्म अतिक्रमण गरिएको क्षेत्रको लागत सङ्कलन गरिएको छ ।
उनले भने, वन ऐनमा प्रष्ट रूपमा वनको जमिन उल्लेख गरिएको छ । वन बाहेक ऐलानी प्रति भन्ने उल्लेख गरिएको छैन । आवादी र वनको जमिन भनेर उल्लेख गरिएकाले ऐलानी र प्रति जमिनका सवालमा वन ऐनमा उल्लेख गरिएको छैन ।
वन ऐन अनुसार कोही कसैलाई जग्गा दर्ता गर्न मिल्दैन । व्यक्ति, संस्था एवं सडक क्षेत्राधिकारको जमिन छोडेर सबै वनको हुने उनले बताए। महाकाली राजमार्ग छेउछाउ अतिक्रमण गरी बसेकाहरूको लागत सङ्कलन गरिए पनि सडक क्षेत्राधिकार के कति रहने भन्ने कित्ताकाट भई नसकेको उनले बताए।
उनका अनुसार मन्त्रालयको परिपत्र अनुसार अतिक्रमित भूमिको लागत सङ्कलन गरी जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । अतिक्रमित भूमि हटाउन प्रशासनले आवश्यक पहल थालेसँगै डिभिजन वन कार्यालयले पनि काम थाल्ने उनले बताए। (गाेरखापत्रबाट सम्पादित अंश)