बैतडीमा प्रधानाध्यापकलाई मोसो दल्ने चार जना पक्राउ
धनगढीः बैतडीमा प्रधानाध्यापकलाई मोसो दल्दै जुत्ताको माला लगाएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
शिवनाथ गाउँपालिका–४ स्थित पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि सार्वजनिक रूपमा दुर्व्यवहार गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले महिलासहित चार जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ३८ वर्षीया तारा महता, उनका श्रीमान प्रेम महता, मोहन महता र शकुन्तला महता रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बलदेव बडूका अनुसार उनीहरूलाई शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय मेलौलीबाट खटिएको टोलीले घरबाटै पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। घटनामा संलग्नमाथि कानुनअनुसार कारबाही गरिने प्रहरीले बताएको छ।
घटनाअनुसार, पिपलकोट माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिका लागि तारा महताले परीक्षा दिएकी थिइन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा प्रधानाध्यापकलाई आर्थिक प्रलोभन देखाएर जागिर दिलाउन दबाब दिइएको, तर पहिलो परीक्षामै असफल भएपछि आक्रोशित परिवारले ओझामाथि कालोमोसो दल्दै जुत्ताको माला लगाएर सार्वजनिक रूपमा बेइज्जत गरेको उल्लेख छ।
उनीहरूले प्रधानाध्यापक ओझाको घाँटीमा 'म अपराधी हुँ' लेखिएको पम्प्लेट समेत झुण्ड्याएका थिए। घटनाको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।