लेबनानको दक्षिणमा इजरायली हवाई हमला तीव्र, कम्तिमा ३१ जनाको मृत्यु
दक्षिणी लेबनानमा इजरायलले व्यापक हवाई हमला गरेको छ, जसमा कम्तिमा ३१ जनाको मृत्यु भएको लेबनानको सरकारी समाचार संस्थाले जनाएको छ। मृत्यु हुनेमध्ये एक जना नागरिक उद्धारकर्मी पनि रहेका छन्।
टायर जिल्लाको तोरा नगरमा भएका दुई छुट्टाछुट्टै हवाई हमलामा पाँच जनाले ज्यान गुमाएका छन्। साथै, इजरायली मानवविहीन विमानले हसबाया जिल्लाको कफरशुबा र कफरहमाम जोड्ने सडकमा गुडिरहेको गाडीलाई निशाना बनाउँदा एक नागरिक उद्धारकर्मीको मृत्यु भएको बताइएको छ।
बिन्त जुबैल र नाबातिया जिल्लाका विभिन्न गाउँहरूमा भएका थप हवाई हमलामा पाँच जनाको मृत्यु भएको छ भने, बिन्त जुबैल जिल्लाकै अस–सुल्तानिया क्षेत्रमा गरिएको अर्को हमलामा चार जनाले ज्यान गुमाएका छन्।
गत अप्रिल १७ मा लेबनान र इजरायलबीच युद्धविराम घोषणा गरिएको थियो, जसलाई पछि मे १७ सम्म लम्ब्याइएको थियो। तर युद्धविराम कायम रहे पनि इजरायली सेनाले दक्षिणी लेबनानमा दैनिकजसो हवाई हमला जारी राखेको छ।
यसबीच, पछिल्ला दिनहरूमा हिजबुल्लाह र इजरायलबीचको तनाव झन् बढ्दै गएको छ।