सर्वदलीय सहमतिमै धनगढी-८ स्थित राधाकृष्ण मन्दिरको जग्गामा व्यक्तिको कब्जा
धनगढीः धनगढी-८ स्थित राधाकृष्ण मन्दिरको नम्बरी जग्गा विभिन्न व्यक्तिले कब्जा गर्नुको पछाडि जनप्रतिनिधि र राजनीतिक दलको हात रहेको तथ्य फेला परेको छ।
धनगढी गाउँमा हुलाकी बाइपास सडक छेउमा रहेको मन्दिरको नाममा दर्ता भएको एक बिघा १५ धुर जग्गा मध्ये कित्ता नम्बर ७९ को ३ कट्ठा ८ धुर जग्गाका जनप्रतिनिधि र राजनीतिक दलको आडमा आधा दर्जन व्यक्तिले अतिक्रमण गरेर घर निर्माण गरी बसोवास गर्दै आएका छन्।
राधाकृष्ण मन्दिर सेवा समितिको नाममा दर्ता जग्गा स्थानीय ६/७ जनाले अतिक्रमण गरेर घर निर्माण गरेको मन्दिरका संस्थापक संरक्षक नवराज ओझाले बताए। उनले माओवादी शान्ति प्रक्रियामा आएपछि मन्दिरको जग्गा रातारात अतिक्रमण गरिएको बताए।
मन्दिरको नाममा दर्ता जग्गालाई नयाँ नापीमा दुई कित्ता बनाइएको हो। कित्ता नम्बर ७३ मा मन्दिर तथा अन्य संरचनासहित रुख विरुवा रोपिएका छन् भने कित्ता नम्बर ७९ को तीन कट्ठा ८ धुर जग्गा पूरै अतिक्रमण गरेर व्यक्तिले घर निर्माण गरेका छन्।
मन्दिरको जग्गा खाली गराउन भन्दै २०६४ सालदेखि अनेक प्रयास गर्दा पनि सफल हुन नसकेको ओझाले गुनासो गरे। वडा कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालयले सहयोग नगर्दा मन्दिरको जग्गा वर्षौदेखि कब्जा गरेर भोगचलनबाट बञ्चित गराइएको उनले बताए। खाली गराउने प्रयास गर्दा जग्गामा बसेकाहरूले भौतिक आक्रमण गर्ने धम्की दिने गरेको ओझाको दाबी छ।
तत्कालीन मेयर वड र वडा अध्यक्ष बरालको भूमिका यस्तो
२०६३ सालमा मुक्त कमैयाँका नाममा मन्दिरको जग्गा अतिक्रमण गरेर केही व्यक्ति बसेको मन्दिरका संस्थापक नवराज ओझाले बताए। उनलका अनुसार धनगढीमै जग्गा जमिन भएका व्यक्तिहरुले मन्दिरको जग्गामा घर निर्माण गरेर बसेका छन्। उनीहरूको विभिन्न स्थानमा जग्गा जमिन र घर भए पनि मन्दिरको जग्गा कब्जा गर्दै बसिरहेको ओझा बताउँछन्।
यता धनगढी उपमहानगरपालिकाले पनि मन्दिरको जग्गा अतिक्रमण गर्नेहरूलाई हटाउन सहयोग नगरेको ओझाले बताए। नगरपालिकाले उल्टै मन्दिरको जग्गामा सहरी स्वास्थ्यको भवन निर्माण गरेको छ। स्वास्थ्यको भवन निर्माण गर्न मन्दिरले सहमतिमै जग्गा उपलब्ध गराएको तथा नगरपालिकाले बाँकी अतिक्रमित जग्गा खाली गर्ने निर्णय नै गरेको छ। जग्गा फुत्काउन गरिएको निर्णय स्वास्थ्यको भवन निर्माण भएपछि वडा तथा नगरपालिकाले कार्यान्वयन नगरेको पाइएको छ।
तत्कालीन वडा अध्यक्ष नारायणप्रसाद बरालको अगुवाइ तथा नगर प्रमुख नृपबहादुर वडको उपस्थितिमा २०७६ मंसिर १९ गते बसेको सर्वदलीय बैठकले मन्दिरको जग्गामा स्वास्थ्यको भवन निर्माण गर्न दिने तथा मन्दिरको जग्गामा बसोवास गरिरहेका मुक्तकमैयाहरूलाई धनगढी सिटी हल र मन्दिरको जग्गाको बिचमा रहेको ऐलानी जग्गा उपलब्ध गराउने निर्णय गरििएको छ। उक्त दिन भवन निर्माणमा जग्गा कब्जा गरेर बसेकाहरूले कुनै अवरोध नगर्ने तथा वडा तथा नगरपालिकाले क्रमशः मन्दिरको जग्गा खाली गराएर उनीहरूलाई ऐलानी जग्गामा बसोबासको व्यवस्था मिलाउने निर्णय भएको छ।
अध्यक्ष बराल र मेयर नृपबहादुर वडको उपस्थितिमै बसेको बैठकले उक्त स्थानमा रहेको दुई कट्ठा १० धुर ऐलानी जग्गाको भागबण्डासमेत गरेको छ। बगबण्डामा मन्दिरको जग्गा कब्जा गर्दै बसिरहेका मुकेश चौधरी तथा उनका तीन जना छोरा रविन चौधरी, विनोद चौधरी र सुशील चौधरीलाई एक कट्ठा ऐलानी जग्गा उपलब्ध गराउने निर्णय भएको छ। यस्तै मन्दिरको जग्गामै बसेका टुलीराम चौधरी र उनका छोरा वीरबहादुर चौधरी र करण चौधरीलाई १० धुर, जियाराम चौधरीलाई, देवल चौधरीलाई, सुल्फी चौधरी ७/७ धुर तथा किसन चौधरीलाई ५ धुर ऐलानी जग्गामा स्थानान्तरण गर्ने निर्णय भएको छ।
तर नगरपालिका र वडा कार्यालयले उक्त निर्णय अहिलेसम्म कार्यान्वयन नगर्दा धनगढी सिटी हल र मन्दिरको जग्गाको बिचमा रहेको ऐलानी जग्गा अरु नै व्यक्तिले कब्जा गरेका छन्। वडा र नगरपालिकाले मन्दिरको जग्गाबाट अतिक्रमणकारी हटाउन त्यसपछि अहिलेसम्म कुनै कारबाही नगरेको ओझाले बताए।
सर्वदलीय बैठकमा तीन महिना भित्र सबै घर परिवारलाई मन्दिरको जग्गाबाट स्थानान्तरण गर्ने निर्णय भए पनि उक्त निर्णय ६ वर्षदेखि अलपत्र परेको ओझाले बताए।
'पूर्व मेयर नृपबहादुर वड र वडा अध्यक्ष नारायण बरालले मन्दिरको जग्गा लिएर स्वास्थ्यको भवन निर्माण गरे तर मन्दिरको जग्गा खाली गराउन सहयोग नै गरेरनन्,' उनले भने, 'उनीहरूले सर्वदलीय बैठक गरेर आफ्नो काम पूरा गरे। अहिलेका मेयर र वडा अध्यक्षले पनि मन्दिरको जग्गा खाली गर्न कुनै सहयोग गरेका छैनन्। अन्यत्र घर र जग्गा भएकाहरूले नै मन्दिरको जग्गा कब्जा गरेका छन् तर खाली गर्न कुनै निकायले पनि सहयोग गरेको छैन।'
ओझाले सबै राजनीतिक दल र जनप्रतिनिधिकै मिलेमतोमा मन्दिरको जग्गा कब्जा गर्नेहरू बलियो भएको आशंका व्यक्त गरे। उनले जग्गा खाली हुने आशा दिनप्रतिदिन क्षीण हुँदै गएको बताए।
यता, २०७९ को निर्वाचनपछि नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि भने २०७९ भदौ ८ गते अतिक्रमित जग्गाको स्थलगत निरीक्षण गरी प्रतिवेदन पेश गर्न धनगढी उपमहानगरपालिकाले तत्कालिन नगर प्रहरी नायब निरीक्षक कृष्णबहादुर मल्ललाई खटाएको छ। तर उक्त पत्रअनुसार नगर प्रहरीले अध्ययन गरे/नगरेको कुरा थाहा नभएको ओझाले बताए।