सरकारका कदमबारे प्रश्न गर्दा भागेर नहिँड्न सांसदहरूलाई रवि लामिछानेको आग्रह
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले हेरेर र सोचेर मात्र कदम चालेको बताएका छन्।
पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले चालेका कदमबारे प्रश्न गर्दा भागेर नहिँड्न पार्टीका सांसदहरूलाई सुझाव दिए।
‘कहिलेकाहीँ विभिन्न कोणबाट आएका प्रतिक्रियाहरू, कहिलेकाहीँ समालोचनाहरूले हामीलाई सोच्न बाध्य बनाएको पनि हुनसक्छ’, लामिछानेले भने, ‘तर तपाईँहरू के निर्धक्क हुनुहोला भने सरकारले सोचेर,हेरेर र विचार गरेर आफ्ना कदमहरू चालिरहेको छ । त्यसकारण सरकारले गरेका कामहरूमा आजका दिनसम्म दुखमनाउ गरेर भाग्न पर्दैन ।’
उनले अध्यादेशलगायतका विषयमा प्रश्न गर्दा अप्ठेरो परेको हुनसक्ने भएपनि कतिपय अवस्थामा फास्ट ट्रयाकबाट कानुन बनाएर जनतालाई लाभ दिन खोजेको बताए ।
सभापति लामिछानेले देश र नागरिकलाई घाटा हुने र अप्ठ्यारो हुने कुनै पनि निर्णय नगर्ने र गर्न नदिइने समेत दाबी गरे। हिजो ट्रयाकबाहिर रहेको देश अहिले ट्रयाकमा आइरहेको समेत उनले बताए ।
रास्वपालाई विभिन्न राजनीतिक दल कांग्रेस, एमाले र नेकपाले समेत भोट दिएकाले पार्टी यो हैसियतमा पुगेकाे भन्दै लामिछानेले देश झुक्ने काम रास्वपाले नगर्ने बताए।