दार्चुलाको दुम्लिङगाउँमा पहिलाे पटक गाडी पुग्याे
दार्चुला: दुर्गम दार्चुलाको दुम्लिङगाउँमा नेपाली सेनाले गाडी पुर्याएको छ । दार्चुला–तिङ्कर सडक अन्तर्गतको तुषारपानी–कोठेधार–तिङ्कर सडक निर्माण गरिरहेको सेनाले चालु आर्थिक वर्ष २०८२/८३ मा व्यास गाउँपालिका–२ कल्जुसम्म ट्र्याक खोलिएकोमा दुम्लिङसम्म गाडी चल्ने भएको छ ।
तुसारपानीदेखि दुम्लिङसम्मको १.४ किलोमिटर सडकको स्तरोन्नति गरेपछि दुर्गम दुम्लिङ गाउँसम्म गाडी पुर्याउन सफल भएको दार्चुला–तिङ्कर सडक आयोजनाका आयोजना प्रमुख एवं प्रमुख सेनानी राजेश कट्वालले जानकारी दिए। सडकको शून्यविन्दु तुषारपानीदेखि दुम्लिङसम्मको १२ किलोमिटर सडक शनिबार एक कार्यक्रमबिच गाडी गुडाएर उद्घाटन गरिएको छ । स्थानीय जनप्रतिनिधि, सरोकारवालाको उपस्थितिमा दुम्लिङ गाउँमा गाडी पुर्याएर उद्घाटन गरिएको उनले बताए।
गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयवासीले गाडी, नेपाली सेना र जनप्रतिधिलाई फूलमालाले स्वागत गरेका छन् । साथै स्थानीयले सडक नियमित रूपमा सञ्चालनका लागि आग्रहसमेत गरेका छन् । स्थानीय कौशिला बुढाथोकीले ग्रामीणबस्तीमा सडक पुगेपछि आफ्नो सङ्घर्षपूर्ण जीवन केही सहज भएको बताए।
विगतदेखि भारतीय बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य भएको पनि उनले बताए। गाउँमा गाडी पुगेपछि मल्लो दुम्लिङका स्थानीय पूर्णिमा बुढाथोकीले दैनिक उपभोग्य सामानदेखि निर्माण सामग्री ढुवानी गर्न सहज भएको बताए।
तुषारपानीदेखि तिङ्करसम्मको कुल ७९ किलोमिटरमध्ये गत आर्थिक वर्ष २०८१/८२ सम्म २२.१५ किलोमिटर सडकको ट्र्याक खोलिसेकेको नेपाली सेनाले दुम्लिङसम्म गाडी गुड्ने सडक निर्माण गरेको छ । आर्थिक वर्ष २०७७/७८ देखि नेपाली सेनाले निर्माण गरिरहेको सडक निर्माणमा आर्थिक वर्ष २०८१/८२ सम्म तीन अर्ब ७४ करोड रुपियाँ खर्च भएको उनले बताए।
चालु आवमा तत्कालीन सरकारले सडक निर्माणमा एक करोड तथा मेसनरी औजार खरिद र घर निर्माणमा पाँच करोड ३१ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । अन्य शीर्षकमा रहेको पाँच करोड रुपियाँमध्ये वर्तमान सरकारले चार करोड रुपियाँ सडक निर्माणमा रकमान्तर गरेपछि नेपाली सेनाले दुम्लिङसम्म गाडी पुर्याएको हो ।
आर्थिक वर्ष २०७७/७८ देखि यो सडकलाई नेपाली सेनाले निर्माण गरिरहेको छ । नेपाली सेनाले चालु आवमा छाङ्रुबाट तल एक किलोमिटर सडकको नयाँ ट्र्याक खोलेको पनि आयोजना प्रमुख एवं प्रमुख सेनानी कटवालले बताए।