भूमि समस्या समाधान आयोग खारेजपछि बैतडीमा लालपूर्जा वितरण रोकियो
बैतडीः सरकारले भूमि समस्या समाधान आयोगका पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्णय गरेसँगै बैतडीमा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया प्रभावित भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन परिवारलाई लालपूर्जा वितरणको अन्तिम तयारी भइरहेका बेला आयोग खारेज भएपछि सम्पूर्ण प्रक्रिया स्थगित गरिएको हो ।
आयोग जिल्ला समिति बैतडीले पञ्चेश्वर गाउँपालिकाका २० जना भूमिहीन सुकुम्बासी परिवारलाई पहिलो चरणमा लालपूर्जा वितरण गर्ने तयारी गरेको थियो । गाउँपालिकाबाट प्रमाणीकरण भएका ५९ जना भूमिहीन सुकुम्बासीमध्ये पहिलो चरणमा २० परिवारलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने तयारी गरिएको थियो ।
भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि सम्बन्धित जग्गामाथि दाबी–विरोध पेश गर्न गत वैशाख १७ गते सात दिने सार्वजनिक सूचना पनि प्रकाशन गरिएको थियो । तर आयोग खारेज भएसँगै लालपूर्जा वितरणसम्बन्धी सम्पूर्ण प्रक्रिया रोकिएको नापी कार्यालय बैतडीका प्रमुख विनोद भट्टले जानकारी दिए।
उनका अनुसार आयोगमार्फत फिल्डमा खटाइएका प्राविधिक कर्मचारीहरूलाई समेत फिर्ता बोलाइएको छ । आयोगमार्फत सञ्चालन भइरहेका नापजाँच, तथ्याङ्क सङ्कलन तथा प्रमाणीकरणका कामहरू हाल स्थगित अवस्थामा रहेका छन् ।
पञ्चेश्वर गाउँपालिकामा मात्रै ५९ जना भूमिहीन सुकुम्बासी परिवार रहेका छन् भने करिब चार सय अव्यवस्थित बसोबासी रहेको तथ्याङ्क छ । जिल्लाभर तीन हजारभन्दा बढी भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको अनुमान गरिएको छ । आयोग खारेजीसँगै उनीहरूको व्यवस्थापन प्रक्रिया अन्योलमा परेको स्थानीयवासीले बताएका छन् ।