आउँदाे दशकमा ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य
काठमाण्डाैः सरकारले आउँदाे दशकमा ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने बताएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै याे लक्ष्य हासिल गर्न ऊर्जा, वन, भूमि र वातावरणसम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गरिने बताए।
उनले बिजुली उत्पादन, वितरण, प्रसारण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने उल्लेख गरे। उनका अनुसार ऊर्जामा आधारित उद्योग प्रवर्द्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गर्ने सरकारको लक्ष्य रहेको छ ।
राष्ट्रपति पाैडेलले अन्तरदेशीय ऊर्जा व्यापार सम्झौताहरूलाई दीर्घकालिन लगानी आकर्षित गर्ने माध्यम बनाइने बताए। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा शेयर लगानीको विकल्प प्रदान गर्ने नीति पनि लिएको छ ।