सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला–तिङ्कर सडक : पर्याप्त बजेट विनियोजन गर्न माग

२०८३ वैशाख २९, ०५:५२ खबर संवाददाता

दार्चुलाः  सडक सञ्जालको पहुँचबाट टाढा रहेका दार्चुलावासीले त्रिदेशीय नाकाका रूपमा रहेको सामरिक महत्वको दार्चुला–तिङ्कर सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन् ।

खास गरेर सीमावर्ती व्यास गाउँपालिकाका नागरिकले सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गरेर निर्माणलाई पूर्णता दिनुपर्ने माग गरेका हुन् । सडक निर्माण सुरु गरिएको १८ वर्ष बितिसक्दा  पनि बजेट अभावकै कारण निर्माण कार्यले गति लिन सकेको छैन । 

ब्यास–२, दुम्लिङकी पूर्णिमा बुढाथोकीले सरकारले सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गरेर सीमाका नागरिकलाई सडक सञ्जालको पहुँचमा जोड्नुपर्ने बताइन्। सडक नहुँदा नागरिकले खाद्यान्नलगायतका सामग्री चर्को मूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको उनले बताइन्।  

नेपालबाट सहज सडक मार्ग नभएका कारण दैनिक उपभोग्य वस्तु र आवश्यक सामान किनमेल गर्न भारतकै भर पर्नुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो । भारतले कालापानी, लिपुलेकसम्म सडक विस्तार गरिसकेको छ भने नेपालतर्फ दुम्लिङ गाउँमा हालै नेपाली सेनाले गाडी पुर्याएको छ । 

यो सडक नबन्दा यहाँको छाङ्रु र तिङ्करलगायत ठाउँ बसोबास गर्ने सौका समुदायका मानिसलाई भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहोराले दार्चुला–तिङ्कर सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताए। व्यास–६, हुतीका स्थानीय दीपक खातीले बजेट अभावका कारण सामरिक महत्व बोकेको रणनीतिक सडक निर्माण कार्यले गति लिन नसकेको बताउछन्।  

उनका अनुसार बजेट अभावकै कारण छाङरुदेखि निर्माण भइरहेको सडक निर्माणको काम बन्द छ । नेपालबाट तिङ्कर नाकासम्म गाडी पु¥याउन अझै ६७ किलोमिटर सडक निर्माण गर्न बाँकी छ । कडा चट्टानी भूभाग र प्रत्येक वर्ष दार्चुला–तिङ्कर सडकलाई बजेटमा उपेक्षा गरिँदा सडक निर्माण निकै सुस्त गतिमा भइरहेको छ । 

सडक नहुँदा सदरमुकामलगायत अन्य ठाउँ जान तुइनमा झुन्डिनुपर्ने बाध्यता रहेको छ । तुइनबाट खसेर हालसम्म सयौँ मानिसले मृत्युवरण गर्नु परेको दुम्लिङकै अर्का स्थानीय द्रोपती जोहारीले पीडा पोखे। उनले भने, “आफ्ना नागरिकको रक्षा र स्वाभिमानका लागि भए पनि यो सरकारले सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गर्नु पर्छ ।” यहाँका स्थानीयले दुम्लिङसम्मको सडकमा वर्षभरि नै गाडी चल्ने गरी निर्माण गर्न आग्रह गरेका छन् । दार्चुला–तिङ्कर सडक निर्माणमा कठिनाइ भएपछि तत्कालीन सरकारले आव २०७७/७८ देखि नेपाली सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो । 

नेपाली सेनाले व्यास गाउँपालिका–३, तुषारपानीदेखि तिङ्करसम्मको ७९ किलोमिटर सडक निर्माण गरिरहेको छ । यो निर्माण आव ०८७/८८ सम्ममा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । 

आव ०७७/७८ देखि सडक निर्माणको काम गरिरहेको नेपाली सेनाले हालसम्म २२.१५ प्रतिशत सडकको ट्याक खोलेको छ, भने १२ किलोमिटर सडकमा गाडी गुडाएको छ । सडकको शून्य विन्दु तुषारपानीदेखि दुम्लिङसम्मको १२ किलोमिटर सडकमा गाडी सञ्चालन भएको छ । सेनाले हालसम्म तीन अर्ब ७४ करोड रुपियाँ खर्च भएको जनाएको छ । -गाेरखापत्रबाट  

कमेन्ट लोड गर्नुस