सुदूरपश्चिममा एसइईको उत्तीर्ण दर ५१ प्रतिशत, गत वर्षभन्दा उल्लेखनीय सुधार
धनगढीः माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजामा सुदूरपश्चिम प्रदेशमा उत्तीर्ण दर बढेको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेशका अधिकांश जिल्लामा २०८१ को तुलनामा यस वर्ष उत्तीर्ण दर सुधार भएको देखिएको छ।
शिक्षा विकास निर्देशनालय डोटीका अनुसार कैलालीमा यस वर्ष ५५.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन गत वर्षको ४३.०१ प्रतिशतभन्दा करिब १२ प्रतिशतले बढी हो। कैलालीबाट १४ हजार १४६ विद्यार्थी सहभागी भएकामा ७ हजार ८२२ जना उत्तीर्ण र ६ हजार ३२४ जना नन–ग्रेड भएका छन्।
कञ्चनपुरमा ८ हजार २४४ विद्यार्थी सहभागी भएकामा ५१.३२ प्रतिशत उत्तीर्ण भएका छन्, जुन २०८१ को ४५.२४ प्रतिशतभन्दा बढी हो। यहाँ ६ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन्।
डडेल्धुरामा ३५.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन अघिल्लो वर्ष २७.५२ प्रतिशत थियो। बैतडीमा भने ५१.४० प्रतिशत उत्तीर्ण दर रहे पनि अघिल्लो वर्ष ५२.३० प्रतिशतभन्दा केही घटेको देखिएको छ।
दार्चुलामा ३०.८४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन गत वर्षको ३५.०८ प्रतिशतभन्दा कम हो। डोटीमा ४१.२८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने अछाममा ५५.७१ प्रतिशत पुगेको छ। बाजुरामा ६१.९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
बझाङको जिल्लागत तथ्याङ्क भने उपलब्ध नभएको शिक्षा विकास निर्देशनालय डोटीले जनाएको छ।
समग्रमा सुदूरपश्चिम प्रदेशबाट २०८२ सालको एसइईमा ४२ हजार २९९ विद्यार्थी सहभागी भएकामध्ये २१ हजार ६६४ जना उत्तीर्ण भएका छन्, जुन ५१.२१ प्रतिशत हो। गत वर्ष प्रदेशको उत्तीर्ण दर ४२.३० प्रतिशत मात्र थियो।