सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध

२०८३ वैशाख ३०, ०१:४१ खबर संवाददाता

प्रतिपक्षी दलहरूको विरोधपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह सहभागी नभएको भन्दै विपक्षी सांसदहरूले सदनमा विरोध जनाएका हुन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुमति पाएलगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोधमा उत्रिएका थिए। उनीहरूले प्रधानमन्त्री संसदबाट भाग्न नमिल्ने भन्दै प्रधानमन्त्री उपस्थित नभएसम्म सदन सञ्चालन हुन नदिने अडान राखेका छन्।

बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री जवाफ दिन उपस्थित नभए त्यसलाई गम्भीर रूपमा लिइने चेतावनी दिए। उनले प्रधानमन्त्रीले संसदीय मर्यादा विपरीत व्यवहार गरेको आरोप समेत लगाए।

त्यस्तै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रम देशकै मुख्य विषय भएकाले प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने बताए।

यता रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभा नियमावलीको धारा ३८ को उपधारा ३ अनुसार प्रधानमन्त्री अनुपस्थित हुँदा मन्त्रीलाई प्रतिनिधिका रूपमा तोक्न सकिने व्यवस्था रहेको उल्लेख गरे। उनले प्रधानमन्त्रीले अर्थमन्त्रीलाई प्रतिनिधि तोकेको अवस्थामा सदन सहज रूपमा अघि बढाउन आग्रह गरे।

सभामुख अर्यालले पनि छलफललाई अघि बढाउन सांसदहरूलाई आग्रह गरेका थिए। तर विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिबिनै नीति तथा कार्यक्रम अघि बढ्न नसक्ने अडान दोहोर्‍याएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरे।
 

कमेन्ट लोड गर्नुस