प्रतिनिधिसभामा असंसदीय शब्द प्रयोग नगर्न सभामुखको आग्रह
डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा धारणा राख्दा शब्द चयनमा संवेदनशील हुन सांसदहरूलाई आग्रह गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले संसद् नियमावलीमा उल्लेख गरिएका असंसदीय शब्द प्रयोग नगर्न तथा बोल्दा आवश्यक शिष्टाचार कायम राख्न सांसदहरूलाई अनुरोध गरेका हुन्।
उनले अशिष्ट, अश्लील, अपमानजनक तथा सार्वजनिक शिष्टाचारविपरीत शब्द प्रयोग गर्न नहुने नियम स्पष्ट रहेको उल्लेख गर्दै कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा असर पर्ने अभिव्यक्ति दिन नहुनेमा विशेष ध्यान दिनुपर्ने बताए।
त्यसैगरी उनले गणेश पराजुली ले बैठकमा प्रयोग गरेका केही शब्दहरू संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन्।
बैशाख २९ गतेको बैठकमा सांसद पराजुलीले प्रयोग गरेका शब्द हटाउन विपक्षी दलका सांसदहरूले समेत माग गरेका थिए।