सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘छुटेका विषय बजेटमार्फत सम्बोधन हुनुपर्छ’ : भीष्मराज आङदेम्बे

२०८३ जेठ २, ०२:०९ खबर संवाददाता

काठमाडाैँ:नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले सरकारको नीति तथा कार्यक्रममा समेटिन नसकेका विषयलाई आगामी बजेटमार्फत सम्बोधन गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले ‘नीति तथा कार्यक्रममा प्रविधिसम्बन्धी धेरै विषय छुटेको’ उल्लेख गर्दै त्यसलाई बजेटमार्फत समेट्नुपर्ने धारणा राखे।

आङदेम्बेले नीति तथा कार्यक्रममाथिको छलफललाई सीमित समयमै टुंग्याइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै ‘पहिले तीन दिनसम्म हुने छलफल केही घण्टामै सकिनु उचित नभएको’ बताए। उनले सरकारले आवश्यक संसदीय प्रक्रिया पूरा नगरेको जस्तो देखिएको टिप्पणी गरे।

उनले ‘नीति तथा कार्यक्रममा पर्याप्त छलफल हुन नसके पनि प्रि–बजेट छलफलमा व्यापक बहस हुने’ विश्वास व्यक्त गरे। साथै उनले ‘विरोधका लागि मात्रै विरोध गर्ने पुरानो शैली अब दोहोरिन नहुने’ भन्दै परिणाममुखी काममा प्रतिपक्षले सहयोग गर्ने बताए।

आङदेम्बेले सरकारका सकारात्मक काममा साथ दिने र कमजोरीमा खबरदारी गर्ने भूमिकामा प्रतिपक्ष प्रस्तुत हुने उल्लेख गर्दै ‘हाल सरकारको गतिविधि हेर्दा अपेक्षित परिणाम दिने स्पष्ट बाटो तय भएको अनुभूति हुन नसकेको’ धारणा राखे।

कमेन्ट लोड गर्नुस