१८ वर्षमा महाकाली कोरिडोरको २८७.५ किमि सडक ट्र्याक खुल्याे
दार्चुलाः कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्कर नाका जोड्ने सडकका रूपमा रहेको महाकाली कोरिडोरको हालसम्म २८७.५ किलोमिटर ट्र्याक खुलिसकेको छ ।
आर्थिक वर्ष २०६५/६६ देखि सञ्चानलमा रहेको सडक योजनाले गएको १८ वर्षमा सडकको ट्र्याक खोलेको महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनाका योजना प्रमुख ईश्वर कार्कीले जानकारी दिए।
कञ्चनपुरको ब्रह्मदेव, डडेलधुराको जोगबुढा, बैतडीको पञ्चेश्वर, चमेलिया, दार्चुलाको लाली, उकु, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा तुसारपानीसम्मको ३३४ किलोमिटरमध्ये २८७.५ किलोमिटर सडकको ट्र्याक खुलेको उनले बताए।
कोरिडोर अन्तर्गत ४७ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी रहेको बताइएको छ । यो सडक योजनालाई यस क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक विकासमा योगदान पुर्याउने योजनाका रूपमा लिइएको उनले बताए।
सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलामा गरेर सडकको कुल लम्बाइ ४१३ किलोमिटर रहेको योजना प्रमुख कार्कीले बताउनुभयो । ४१३ किलोमिटरमध्ये दार्चुलामा रहेको तुसारपानीदेखि तिङ्कर नाकासम्मको ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ ।
नेपाली सेनाले आर्थिक वर्ष २०८१/८२ सम्ममा १९.८ किलोमिटर सडकको ट्र्याक खोलेको छ भने १२ किलोमिटर सडक (दुम्लिङगाउँसम्म) सम्म गाडी पु¥याएको छ । सेनाले यो सडकलाई आर्थिक वर्ष २०७७/७८ देखि निर्माण गरिरहेको छ ।
सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कोरिडोरलाई २२ करोड ९७ लाख रुपियाँ विनियोजन गरेकोमा सबै खर्च भएर १५ करोड रुपियाँ बजेट रकमान्तर भई थप भएको तथा चार करोड रुपियाँ खर्च भइसकेको योजना प्रमुख कार्कीले जानकारी दिए।
योजना अन्तर्गत हालसम्म कञ्चनपुरमा ११ किलोमिटर, डडेलधुरामा ३४.४ किलोमिटर, बैतडीमा १३८.९ किलोमिटर र दार्चुलामा १०३.२ किलोमिटर सडकको ट्र्याक खुलेको उनले जानकारी दिए।
चालु आर्थिक वर्षमा डडेलधुराको १.६ किलोमिटर सडक कालोपत्रे गरिएको उनले बताए। डडेलधुरा र बैतडीमा गरेर यस वर्ष सात किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको छ । यसै वर्ष सडक कालोपत्रे गर्नका लागि दार्चुलामा १२ किलोमिटर सडक ग्राभेल गरिएको उनले जानकारी दिए। ट्र्याक खुलाउन बाँकी रहेको सडक निर्माणका लागि ४० करोडको बजेट आगामी आर्थिक वर्ष २०८३/८४ मा विनियोजन हुने पनि योजना प्रमुख कार्कीले बताए।
सो सडक अन्तर्गत दार्चुलाको मालिकार्जुन गाउँपालिका सलेतीदेखि बेत खण्डको १२.३ किलोमिटर र खलङ्गादेखि सुन्सेरा खण्डको १८.५ किलोमिटर सडक कालोपत्रे गर्ने काम गरिरहेको छ । यसैबिच महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनामा सडक कालोपत्रे गर्नका लागि ५२ करोड रुपियाँको स्रोत सुनिश्चितता भएको छ ।
अर्थ मन्त्रालयले गत वैशाख २९ गते मन्त्रीस्तरीय निर्णय गरेर ५१ करोड ९९ लाख रुपियाँ निर्माण कार्य अघि बढाउन सहमति दिएको योजना प्रमुख कार्कीले बताए।
बहुवर्षीय ठेक्का प्रक्रियामार्फत ६.२ किलोमिटर सडक कालोपत्रे गरिने उनले बताए।