प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सकियो, केहीबेरमा निर्णय आउने
काठमाडौं: सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको छ ।
सुनुवाइमा सुनुवाइ समितिका सदस्यहरूले प्रस्तावित प्रधान्यायाधीश शर्मालाई प्रश्नहरू सोधेका थिए । उनले प्रश्नहरूमाथि जवाफ दिइसकेपछि समिति सभापति बोधनारायण श्रेष्ठले पुरक प्रश्नका लागि सदस्यहरूलाई समय दिएका थिए । पुरक प्रश्न नभएपछि सुनुवाइ सकिएको जानकारी गराएका थिए ।
उनले प्रश्नको जवाफ दिनेक्रममा सर्वोच्च अदालतमा गुटबन्दी नरहेको दाबी पनि गरे । ‘सर्बोच्चमा गुटबन्दी केही पनि छैन,’ संसदीय सुनुवाइका क्रममा आफूमाथि उठेका प्रश्नको जवाफमा उनले भनेका थिए ।
आफू विरुद्धको रिट दर्ताको सन्दर्भमा आएको प्रश्नको पनि खण्डन गरे । ‘बार र बेन्चको द्वन्द भएको छैन । बार र प्रशासनमा केही भएको होकी जस्तो देखिन्छ’ उनले भनेका छन् ।
शर्माले आफूमाथि लागेको नेपोबेबीको आरोपको खण्डन गरे । आफू योग्यता र क्षमताकै आधारमा अगाडि बढ्दै आएको उनको भनाइ छ । ‘पारिवारिक नाता भएकाले नियुक्ति पाउन हुँदैन भन्ने छैन,’ प्रस्तावित प्रधानन्यायाधीश शर्माले जवाफ दिए ।