सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनोजकुमार शर्मा बने प्रधानन्यायाधीश, राष्ट्रपति पौडेलबाट शपथ

२०८३ जेठ ५, ०७:३२ खबर संवाददाता

काठमाडौं: सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त भएका मनोजकुमार शर्माले मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।

राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए। त्यसअघि संसदीय सुनुवाइ समितिले उनलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।

संसदीय सुनुवाइका क्रममा शर्माले न्यायिक सुधारसम्बन्धी आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। सांसदहरूले अदालतभित्रको समूहबन्दी, दरपीठविरुद्ध निवेदन दर्ता नगर्न दिइएको दबाब तथा एनसेल कर विवादलगायत मुद्दामा भएका फैसलाबारे प्रश्न उठाएका थिए, जसको उनले जवाफ दिएका थिए।

गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई भावी प्रधानन्यायाधीशका रूपमा सिफारिस गर्ने निर्णय गरेको थियो।

वीरगन्जमा २०२७ असार ४ गते जन्मिएका शर्माले नेपाल ल क्याम्पसबाट बीएल तथा भारतको पुने विश्वविद्यालयबाट व्यापार र संवैधानिक कानुनमा एलएलएम गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालको श्रम कानुनको सन्दर्भमा संगठन स्वतन्त्रता’ विषयमा विद्यावारिधि पनि प्राप्त गरेका छन्।

पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिजसमेत रहेका उनले २०५१ सालमा अधिवक्ताको लाइसेन्स लिएका थिए। वकालतसँगै विभिन्न कम्पनी तथा संस्थालाई कानुनी परामर्श दिएका शर्माले २०६० देखि २०६५ सम्म बीबीएस तहमा कानुन विषय अध्यापन पनि गरेका थिए।
 

कमेन्ट लोड गर्नुस