सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका प्रधानाध्यापक धामीको आत्महत्या प्रकरण : ५ शिक्षकसहित ८ जना पक्राउ

२०८३ जेठ ६, ०७:२७ खबर संवाददाता

धनगढी: दार्चुलाको ब्याँस गाउँपालिका–४ सुनसेरा यतिबेला शोकमा डुबेको छ । सम्पाल नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामीले विद्यालय परिसरमै झुन्डिएर आत्महत्या गरेपछि सिंगो क्षेत्र स्तब्ध बनेको हो ।

धामीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले सोही विद्यालयका पाँच शिक्षकसहित आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिक्षकहरू पदमराज भट्ट, हरीदत्त भट्ट, बिक्रम सिंह कुँवर, दलीदत्त भट्ट, पुस्करराज भट्ट तथा पञ्चदेवा आधारभूत विद्यालयका प्रधानाध्यापक परमानन्द भट्ट रहेका छन् ।

यस्तै, विद्यालयको निर्माणाधीन भवनका ठेकेदार खेमराज भट्ट भनिने खिमानन्द भट्ट र स्थानीय व्यापारी नरेन्द्रराज भट्टलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रधानाध्यापक धामीले आत्महत्या गर्नुअघि सोमबार बिहान श्रीमती र छोराहरूलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लामो भावुक स्टाटस लेखेका थिए । उक्त स्टाटस तथा सुसाइड नोटमा उनले आफूले आत्महत्या रोज्नुका कारण खुलाएका छन् । हाल पक्राउ परेका अधिकांश व्यक्तिको नाम उनले नोटमा उल्लेख गरेका छन् ।

धामीले केही शिक्षकहरूले आफूविरुद्ध योजनाबद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । उनले विद्यालयका शिक्षक नवराज भट्ट बालिका बलात्कार मुद्दामा पक्राउ परेको घटनासमेत उल्लेख गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १२ वैशाखमा कक्षा ५ मा अध्ययनरत एक बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक नवराज भट्ट पक्राउ परेका थिए । त्यसपछि सोही घटनामा प्रधानाध्यापक धामीलाई समेत फसाउने प्रयास भएको चर्चा विद्यालय र समुदायमा फैलिएको थियो ।

सुसाइड नोटमा धामीले लेखेका छन् कि १२ वैशाखमा शिक्षक राजेन्द्र कुँवरमार्फत नवराज भट्ट पक्राउ परेको जानकारी पाएपछि आफू तनावमा परेका थिए । वैशाख १५ गते विद्यालय पुग्दा आफूलाई समेत मुद्दामा मुछ्ने उद्देश्यले समुदायमा हल्ला फैलाइएको थाहा पाएको उनले उल्लेख गरेका छन् ।

स्रोतका अनुसार नवराज भट्टसँगै आफूलाई पनि बलात्कार मुद्दामा जोड्ने हल्लापछि धामी केही दिनदेखि गम्भीर मानसिक तनावमा थिए । उनलाई आएको एक फोनमार्फत नवराज भट्टले आफ्नो नाम पोल गरेको र पक्राउको तयारी भइरहेको जानकारी दिइएको थियो ।

झुठा आरोपमा पक्राउ परे सामाजिक प्रतिष्ठामा गम्भीर असर पर्ने भयका कारण धामीले आत्महत्याको बाटो रोजेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि जिल्ला प्रहरी कार्यालय दार्चुलाले भने बालिका बलात्कार मुद्दासँग धामीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले गलत सूचना र मानसिक तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने देखाएको छ ।

धामीले आफ्नो सुसाइड नोटमा विद्यालयलाई नमुना बनाउन आफूले खेलेको भूमिकाको चर्चा गरेका छन् । उनले विद्यालय सुधार तथा विकासका लागि गरेका ४६ बुँदे कामहरूको विवरणसमेत उल्लेख गर्दै केही शिक्षक र स्थानीय व्यक्तिहरूबाट निरन्तर मानसिक दबाब र तनाव भोग्नुपरेको आरोप लगाएका छन् ।

अन्तिम सन्देशमा उनले परिवारलाई आफूलाई बिर्सेर अगाडि बढ्न आग्रह गरेका छन् । छोराहरूलाई आमाको साथ नछोड्न अनुरोध गर्दै विद्यालय, विद्यार्थी र समुदायसँग क्षमायाचनासमेत गरेका छन् । साथै सम्पाल नमूना माध्यमिक विद्यालयले निरन्तर प्रगति गरिरहोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।

कमेन्ट लोड गर्नुस