सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा–हुम्ला सीमा विवाद: धनगढीको टोली नपुग्दै वडा सदस्य दम्पतीमाथि मरणासन्न कुटपिट

२०८३ जेठ ७, १२:१६ नारायण अवस्थी

धनगढीः बाजुरा–हुम्ला सीमा विवादका कारण साइपालको रानीसैन बेसक्याम्पतर्फ गएको धनगढी उपमहानगरपालिकाको टोली आक्रमणपछि फर्किएको छ। तर, टोली घटनास्थल पुग्नुअघि नै हिमाली गाउँपालिका–३ का एक वडा सदस्य र उनकी श्रीमतीमाथि मरणासन्न हुनेगरी कुटपिट भएको खुलेको छ।

‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानअन्तर्गत मेयर गोपाल हमाल नेतृत्वको टोली धनगढीबाट रानीसैन बेसक्याम्पतर्फ गएको थियो। टोलीलाई हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयले लाम्पाटा क्षेत्रमा रोकेका थिए। त्यसक्रममा ढुंगामुढासहित आक्रमण भएपछि जनप्रतिनिधि, कर्मचारी र सहभागीहरू ज्यान जोगाएर फर्किन बाध्य भएका हुन्।

लाम्पाटा क्षेत्रलाई लिएर बाजुरा र हुम्लाका स्थानीयबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। प्रदेश सरकारले अस्थायी प्रहरी चौकी निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि विवाद थप चर्किएको बताइएको छ।

हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङले प्रहरी चौकी निर्माणका लागि जग्गा दान दिएपछि उनी स्थानीयको निशानामा परेका थिए। स्थानीयका अनुसार गत ३ जेठमा गुरुङ र उनकी श्रीमतीमाथि घरमै कुटपिट गरिएको थियो। घर कब्जा र लुटपाटसमेत भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले बताएका छन्।

उनका अनुसार प्रहरी प्रशासनबाट अवस्था सामान्य रहेको जानकारी पाएपछि मात्रै धनगढीको टोली अघि बढेको थियो। तर घटनास्थल पुग्दा अवस्था फरक देखिएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय बाजुराले ड्रोन उडाएर भिडियो खिच्ने क्रममा विवाद भएको जनाएको छ। तर गाउँपालिका अध्यक्ष मल्ल र मेयर गोपाल हमालले भने घटना पुरानै सीमा विवादकै कारण भएको बताएका छन्।

मेयर हमालका अनुसार स्थानीयबीच तनाव रहेको जानकारी भए पनि हिंसात्मक अवस्था र कुटपिटबारे पूर्व जानकारी थिएन। ‘त्यहाँ यस्तो अवस्था छ भन्ने थाहा भएको भए हामी जाँदैनथ्यौँ,’ उनले भने।

घटना थप उग्र हुन नदिन धनगढी र हिमाली गाउँपालिकाको टोली फर्किएको थियो। त्यसपछि कुटपिटमा गम्भीर घाइते भएका वडा सदस्यसहितको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस