सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा–हुम्ला सीमा विवाद चर्कियो, हिमाली युवा समूहद्वारा यातायात बन्दको घोषणा

२०८३ जेठ ७, ०१:५९ नारायण अवस्थी

धनगढी: बाजुरा र हुम्लाको सीमावर्ती क्षेत्रमा उत्पन्न विवादपछि हिमाली युवा समूहले बाजुरादेखि हुम्ला आवतजावत गर्ने सम्पूर्ण यातायातका साधन बन्द गर्ने घोषणा गरेको छ।

बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटा र च्याचौर क्षेत्रमा पाइने जडीबुटी तस्करी तथा अवैध वन्यजन्तु सिकार नियन्त्रणका लागि अस्थायी प्रहरी चौकी निर्माण गर्ने क्रममा दुई जिल्लाका स्थानीयबीच झडप भएको हो।

हिमाली युवा समूहका अनुसार हुम्लाको नाम्खा गाउँपालिकाबाट आएको अज्ञात समूहले लाम्पाटामा कार्यरत कामदार तथा स्थानीयमाथि कुटपिट गरी घाइते बनाएको भन्दै विरोधस्वरूप यातायात बन्द गर्ने निर्णय गरिएको हो।

समूहले जारी गरेको विज्ञप्तिमा “हुम्लाबाट आउने र जाने सम्पूर्ण सवारी साधन अनिश्चितकालका लागि बन्द गरिने” उल्लेख गरिएको छ।

यस्तै, “हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं” अभियानमा हिँडेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल सहित हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द मल्लको टोलीलाई समेत अवरोध गरिएको र अराजक शैलीमा स्थानीयमाथि कुटपिट भएको आरोप युवा समूहले लगाएको छ।

घटनापछि सीमावर्ती क्षेत्रमा तनाव बढेको छ भने स्थानीय प्रशासनसँग शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ।

 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस