प्रदेश प्रमुख मियाँसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस
कैलालीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ।
बिहीवार महालेखा परीक्षकको कार्यालयले प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन पेस गरेको हो। महालेखा परीक्षकको कार्यालयका नायब महालेखा परीक्षक थवराज अधिकारीले आर्थिक वर्ष २०८१÷८२ को आठौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख मियाँलाई बुझाएका हुन्। प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख मियाँले महालेखा परीक्षकको कार्यालयले आर्थिक अनुशासन कायम गर्न उत्प्रेरित गरेको बताए।
उनले आर्थिक पारदर्शीता र मितव्ययिताका लागि महालेखा परीक्षकको कार्यालयले विशेष योगदान दिएको भन्दै प्रशंसा गरे उनले सो प्रतिवेदन यथाशीघ्र मुख्यमन्त्रीमार्फत प्रदेशसभा पठाइने बताए। महालेखा परीक्षकको कार्यालयले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८१÷८२ मा सम्पादन गरेका कामकारबाही समेटेर तयार गरिएको प्रतिवेदन पेस गरेको हो।