मुख्यमन्त्री शाहद्वारा कैलालीका टेढी र गुर्गी बाँधको स्थलगत निरीक्षण
धनगढीः मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीको कैलारी गाउँपालिका–२ टेढीस्थित टेढी बाँध तथा वडा नम्बर ३ कुकुरभुक्कामा रहेको गुर्गी बाँधको बिहीबार स्थलगत निरीक्षण गरेका छन्।
कटैनी नदीमा निर्माण गरिएका जिल्लाकै पुराना सिँचाइ आयोजना अन्तर्गतका यी बाँधहरूको अवस्थाबारे जानकारी लिन मुख्यमन्त्री शाह स्वयं स्थलगत अनुगमनमा पुगेको उनको सचिवालयले जनाएको छ। टेढी सिँचाइ आयोजनाबाट वडा नम्बर ६, ८, २, ३, ५ र ७ तथा गुर्गी सिँचाइ आयोजनाबाट वडा नम्बर ७, ५, १ र ३ का कृषकहरू लाभान्वित हुँदै आएका थिए। तर २०६४ सालको बाढीले बाँध क्षतिग्रस्त बनेपछि यी आयोजना पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। बाँध भत्किनु र नहर निर्माण हुन नसक्दा किसानहरू वर्षौंदेखि सिँचाइ समस्यामा परिरहेका छन्।
निरीक्षणपछि मुख्यमन्त्री शाहले प्रभावित किसानलाई राहत पुर्याउन तथा कृषि क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिएका छन्। उनले जनताको माग सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक र प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीका अनुसार टेढी र गुर्गी बाँध पुनर्निर्माणसँगै सिँचाइ नहर निर्माण भए हजारौं कृषक प्रत्यक्ष लाभान्वित हुनेछन्। उनले करिब ९५ प्रतिशत जनता कृषिमा निर्भर रहेको बताउँदै सिँचाइ अभावका कारण किसानहरू वर्षाको पानीमै निर्भर हुन बाध्य रहेको र चैते धान खेतीसमेत गर्न नसक्ने अवस्था रहेको जानकारी दिए। सिँचाइ नहुँदा किसानले महँगो मूल्यमा डिजेल प्रयोग गरेर पानी तान्नुपर्ने बाध्यता पनि रहेको उनको भनाइ छ।
बाँध निर्माणका लागि प्रदेश र स्थानीय सरकारले पटक–पटक बजेट विनियोजन गरे पनि कार्यान्वयन नहुँदा योजना अलपत्र परेको स्थानीय लखन चौधरीले गुनासो गरे। उनले भने, 'योजना समयमै सम्पन्न नहुनु अत्यन्तै दुःखद हो। सरकारले विनियोजन गरेको रकम कार्यान्वयन भए किसानलाई ठूलो राहत मिल्थ्यो।'
निरीक्षण कार्यक्रममा मुख्यमन्त्रीसँगै राष्ट्रिय सभा सदस्य, नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, उपाध्यक्ष खेम चौधरी, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनार, कैलारी गाउँपालिकाका अध्यक्ष तथा स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो।