धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई रेबिज रिफरल प्रयोगशालाको जिम्मेवारी
धनगढीः कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीलाई राष्ट्रियस्तरमा रेबिज रोगको अन्वेषण तथा निदानसम्बन्धी गतिविधि गर्ने गरी रेबिज रिफरल प्रयोगशालाको थप जिम्मेवारी प्रदान गरेको छ।
प्रयोगशालाले मन्त्रालयप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप उत्साह र समर्पणका साथ रेबिज रोग नियन्त्रणका लागि कार्य गर्ने संकल्प गरेको छ। हाल प्रयोगशालाले FAT (Fluorescent Antibody Test) र PCR विधिमार्फत रेबिज रोगको निदान गर्दै आएको छ।
साथै, रेबिजसम्बन्धी परामर्श सेवा पनि निरन्तर प्रदान गर्दै आएको प्रयोगशालाले जनाएको छ। मस्तिष्कको नमूना संकलन जस्तो संवेदनशील र प्राविधिक कार्यका लागि देशभरका प्राविधिकलाई सहज बनाउन प्रयोगशालाले भर्चुअल सेवा समेत सञ्चालनमा ल्याएको छ, जसबाट देशभरबाट सेवा लिन सकिने व्यवस्था गरिएको छ।
यो उपलब्धिमा सहयोग गर्ने WOAH, WOAH Rabies Reference Laboratory Bengaluru (India), DLS, FAO Nepal, Central Veterinary Laboratory, सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तह, सरकारी तथा निजी क्षेत्रका पशु चिकित्सक, प्राविधिक (Veterinarian, Paravet) तथा किसानहरू प्रति प्रयोगशालाले हार्दिक आभार प्रकट गरेको छ।
प्रयोगशालाले अबको लक्ष्य यसलाई अन्तर्राष्ट्रियस्तरको रेबिज निदान तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने रहेको जनाएको छ। त्यसका लागि सबै सरोकारवालाको निरन्तर सहयोग आवश्यक रहेको पनि उल्लेख गरिएको छ।