सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपहाडमा मकै रोपाइँको चटारो, खेतबारीमा किसानको चहलपहल

२०८३ जेठ ९, १२:०४ खबर संवाददाता

बैतडी: सुदूरपश्चिमका पहाडी गाउँबस्ती यतिबेला मकै रोपाइँको चटारोले भरिएका छन्। एक साताअघि परेको वर्षापछि खेतबारीमा पर्याप्त ओस भएसँगै बैतडीसहित सुदूरपहाडका किसान बिहानदेखि साँझसम्म खेतीपातीमा व्यस्त देखिन थालेका हुन्। गाउँगाउँमा हली, गोरु र किसानको चहलपहल बढेको छ भने खेतबारीमा “हाहा” र “ल्यो–ल्यो” का आवाज गुन्जिन थालेका छन्।

बैतडीमा मकैलाई प्रमुख खाद्यान्न बालीका रूपमा लिइन्छ। मकैसँगै भटमास, मास, वर्षे तरकारी तथा फलफूल रोप्ने काममा पनि किसान जुटेका छन्। घरका सबै सदस्य खेतबारीमा खटिएको दृश्य ग्रामीण क्षेत्रमा सामान्य बनेको छ। कोही गोरु जोत्न व्यस्त छन् भने कोही पछाडिबाट मकै छर्दै गरेका छन्। कतै डिल र ड्याङ खन्ने काम भइरहेको छ।

सूर्नया गाउँपालिका–४ का किसान डम्बरसिंह महराले अहिले मकै लगाउने मुख्य समय भएकाले सबै किसान खेतबारीमा व्यस्त रहेको बताए। “हाते ट्याक्टर हुनेले ट्याक्टर प्रयोग गरेका छन् भने गोरु हुनेले गोरुकै भरमा खेत जोतिरहेका छन्,” उनले भने, “दुःख गरेर मकै लगाउँछौँ, गोडमेल गर्छौँ। कहिले हावाहुरीले ढालिदिन्छ, कहिले जंगली जनावरले नष्ट गरिदिन्छन्, तर किसानको कर्म खेतबारी सम्हाल्नु नै हो।”

पाटन नगरपालिका–४ का किसान भानदेव भट्ट पनि केही दिनयता मकै छर्नमै व्यस्त छन्। पाखो जमिनमा बसोबास गर्नेका लागि मकै नै मुख्य आधार भएको उनी बताउँछन्। “केही दिनको मेहनतले वर्षभरि खान पुग्ने भएकाले थकाइ नभनी काम गरिरहेका छौँ,” उनले भने।

समयमै पानी नपरे मकै उम्रन समस्या हुने चिन्ता किसानमा कायमै छ। किसानहरूका अनुसार रातदिनको मेहनतपछि पनि पर्याप्त वर्षा नभए उत्पादनमा असर पर्ने जोखिम रहन्छ।

मेलौली नगरपालिका–५ का किसान नरबहादुर चन्दले मकै यहाँको ग्रामीण जीवनसँग प्रत्यक्ष जोडिएको बाली भएको बताए। उनका अनुसार बिहान–बेलुकाको खाना, पशुपालन तथा घरखर्च धान्ने आधार नै मकैखेती हो।

नेपालमा खेती गरिने प्रमुख बालीमध्ये मकै दोस्रो स्थानमा पर्दछ। बैतडीमा रामपुर कम्पोजिट, अरुण–१, अरुण–२, मनकामना–१, २ र ३, एफोन हाइब्रिड तथा बैतडी लोकल सेतो जातका मकै बढी लगाइन्छन्। जिल्लाको हावापानी र माटो मकै उत्पादनका लागि उपयुक्त भएकाले परम्परागत रूपमा यहाँ मकैखेती हुँदै आएको कृषि प्राविधिकहरू बताउँछन्।

कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले यस वर्ष समयमै रोपाइँ सुरु भएकाले उत्पादन राम्रो हुने अपेक्षा गरिएको बताए। “वन्यजन्तु नियन्त्रण र भण्डारण प्रविधिमा सुधार गर्न सके किसान अझ लाभान्वित हुन सक्छन्,” उनले भने।

कृषि प्राविधिक महेश पाण्डेका अनुसार बैतडीमा १३ हजार हेक्टरभन्दा बढी जमिनमा मकैखेती हुँदै आएको छ। अन्य बालीको तुलनामा उत्पादन राम्रो हुने भएकाले पछिल्ला वर्षमा किसानको आकर्षण मकैखेतीतर्फ बढ्दै गएको उनको भनाइ छ।

गाेरखापत्रबाट

कमेन्ट लोड गर्नुस