बैतडीमा अश्लील तस्बिर सार्वजनिक गरेको आरोपमा २ जना पक्राउ
धनगढीः बैतडीमा एक महिलाको अश्लील तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी चरित्रहत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पञ्चेश्वर गाउँपालिकाकी एक महिलाको अश्लील तस्बिर र भिडियो सार्वजनिक गरेको आरोपमा पञ्चेश्वर–५ गिरेगडाका अन्दाजी २२ वर्षीय सुनिल चन्द र एक जना महिलालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले पीडित महिलाले इलाका प्रहरी मेलौलीमा निवेदन दिएपछि दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए।
उनका अनुसार ती दुई जनाले एक–आपसमा अश्लील तस्बिर तथा भिडियो आदान–प्रदान गर्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप लागेको छ।
इलाका प्रहरी कार्यालय मेलौलीबाट प्रहरी नायब निरीक्षक दिपेन्द्र चन्दको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।