सुदूर नेपाललाई विश्वसँग जोड्दै

हाटबजार पूर्वाधार निर्माण: किसानलाई कृषिउपज बिक्रीमा सहज हुने

२०८३ जेठ ९, ०२:४३ रासस

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका-१० झलारीमा स्थानीय किसानको कृषि उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार निर्माण सुरु गरिएको छ। कृषिउपज बिक्रीका लागि स्थानीयस्तरमा स्थायी बजारको अभाव झेलिरहेका किसानलाई लक्षित गर्दै नगरपालिका र सङ्घीय सरकारको सहकार्यमा हाटबजारस्थल निर्माण अघि बढाइएको हो।

सङ्घीय सरकारको चालु आर्थिक वर्षको सशर्त अनुदान कार्यक्रमअन्तर्गत रु २० लाख लागतमा हाटबजारस्थल निर्माण गर्न लागिएको छ। नगरपालिकाको कृषि विकास शाखा प्रमुख करनसिंह बुढाऐरका अनुसार बजार सञ्चालनलाई व्यवस्थित र सुरक्षित बनाउन रु १५ लाख लागतमा टिनसेट (जस्तापाता  प्रयोग गरेर बनाइएको अस्थायी टहरा) निर्माण तथा रु पाँच लाख लागतमा चारैतिर ‘मेसवायर’ (जाली तार) जडानको काम भइरहेको छ। 

हाटबजार सञ्चालनका लागि सात कट्ठा जग्गा व्यवस्थापन भइसकेको जनाउँदै उनले निर्माण असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको बताए। बजार सञ्चालन तथा व्यवस्थापनका लागि नगर कृषक समन्वय समिति गठन गरी त्यसैमार्फत सञ्चालन गर्ने तयारी गरिएको छ। हाटबजार सञ्चालनमा आएपछि किसानले आफ्नै क्षेत्रमा कृषिउपज बिक्री गर्न पाउनेछन्। यसले उत्पादन बिक्रीका लागि टाढा बजार धाउनुपर्ने बाध्यता घटाउने र कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शुक्लाफाँटा–१० का वडाध्यक्ष लालबहादुर ऐरले हाल स्थानीय किसानले उत्पादन गरेका तरकारी तथा कृषि उपज टोकरीमा बोकेर झलारी, कलुवापुर, वन समितिलगायत बजारमा बिक्री गर्नुपर्ने बाध्यता रहेकामा हाटबजार सञ्चालनमा आएसँगै उक्त समस्या समाधान हुने बताए। बढी उत्पादन गर्ने किसानले महेन्द्रनगर र अत्तरिया बजारसम्म पुग्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले स्थानीयस्तरमा बजार सञ्चालन भएपछि किसानको समय, श्रम र ढुवानी खर्च घट्ने बताए।

नगर उपप्रमुख कल्पना पन्तले हाटबजारले किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै स्थानीय कृषि अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। “किसानले उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले ताजा कृषिउपज सहज रूपमा प्राप्त गर्ने वातावरण तयार हुने विश्वास छ”, उनले भने।

नगर उपप्रमुख पन्तका अनुसार नगरपालिका वडा नं २, ३, ८, ९, १० र १२ मा व्यावसायिक तरकारीखेती विस्तार हुँदै गएको छ। व्यवस्थित बजार अभावका कारण किसानले उत्पादन बिक्रीमा समस्या भोग्दै आएका छन्। कृषिउपज बिक्रीका लागि स्थानीयस्तरमा स्थायी हाटबजार नहुँदा बिचौलियामा निर्भर हुनुपर्ने अवस्था रहेको किसानहरूको गुनासो छ।

नगरपालिकाले आगामी दिनमा थप दुई स्थानमा पनि हाटबजारस्थल निर्माण गर्ने लक्ष्य लिएकोे नगर उपप्रमुख पन्तले जानकारी दिए। कृषि विकास शाखाका अनुसार अर्को हाटबजारस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेको छ। कृषि उत्पादनको अवस्था तथा किसानको पहुँचका आधारमा स्थान छनोट गरिनेछ।

स्थानीयस्तरमा हप्तामा एकदिन सञ्चालन हुने हाटबजारले किसानलाई सहज बजार पहुँच दिलाउनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धन, ग्रामीण अर्थतन्त्र सुदृढीकरण र कृषि व्यवसायलाई दिगो बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
 

कमेन्ट लोड गर्नुस