सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका युवा वैज्ञानिक सर्वेश ओझालाई अमेरिकामा प्रतिष्ठित ‘ट्विचेल फेलोसिप’

२०८३ जेठ १०, ०४:०८ खबर संवाददाता

काठमाडौं: सुदूरपश्चिम प्रदेशको दुर्गम क्षेत्रबाट उदाएका नेपाली युवा वैज्ञानिक सर्वेश ओझाले अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण सफलता हासिल गरेका छन्। सामान्य परिवेशमा जन्मिएर हुर्किएका ओझा हाल संयुक्त राज्य अमेरिकामा पीएचडी अध्ययन गरिरहेका छन्।

धनगढीबाट आफ्नो शैक्षिक यात्रा सुरु गरेका उनले काठमाडौं हुँदै अमेरिकासम्मको यात्रा तय गरेका हुन्। अध्ययन र अनुसन्धानप्रतिको निरन्तर मेहनत तथा समर्पणका कारण उनले विश्वविद्यालय स्तरमै उत्कृष्ट पहिचान बनाउन सफल भएका छन्।

ओझाको अनुसन्धान डोपामिन र नोरएपिनेफ्रिनजस्ता महत्वपूर्ण न्युरोकेमिकलहरूको वास्तविक समयमै मापन गर्ने विषयमा केन्द्रित छ। उक्त अनुसन्धानले न्युरोइम्यून प्रणालीबीचको सम्बन्ध बुझ्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, विभिन्न न्युरोलोजिकल तथा न्युरोइम्यून रोगहरूको कारण र प्रक्रियाबारे थप स्पष्ट बुझाइ विकास गर्न समेत यसले सहयोग गर्ने विश्वास गरिएको छ।

यसैबीच, उनले हालै युनिभर्सिटी अफ सिनसिनाटीद्वारा प्रदान गरिने प्रतिष्ठित “Twitchell Fellowship” प्राप्त गरेका छन्। करिब १५ लाख रुपैयाँभन्दा बढी मूल्यको उक्त फेलोसिपलाई उनको अनुसन्धान यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

ओझाको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई नेपाली युवाहरूको क्षमता र सम्भावनालाई विश्वमञ्चमा चिनाउने उदाहरण बनेको छ। विशेषगरी सुदूरपश्चिमका विद्यार्थी तथा युवाहरूका लागि उनको यात्रा प्रेरणादायी बनेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस