बाजुराको लाम्पाटामा कुटपिट र लुटपाट गर्ने २३ जना हुम्ली विरुद्ध उजुरी दर्ता
धनगढीः बाजुराको हिमाली गाउँपालिका-३ लाम्पाटा आएर स्थानीयमाथि कुटपिट र लुटपाट गर्ने २३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्दा दर्ता भएको छ। जेठ ३ गते लाम्पाटा पुगेर हुम्लाको खार्पुनाथ-२ थलीका स्थानीयले हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य लगायत व्यक्तिलाई निर्घात कुटपिट गर्दै बन्धक बनाएर राखेका थिए।
हुम्लाको थलीबाट एक दिनको पैदल दुरीमा रहेको बाजुराको लाम्पाटा पुगेका करिब तीन सय जनाको समूहले स्थानीयलाई कुटपिट गर्दै उनीहरुको घरमा लुटपाटसमेत गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए।
वडा सदस्य पेमागारा गुरुङसहित पाँच जनालाई बन्धकसमेत बनाएको अध्यक्ष मल्लले बताए। उनले हुम्लाबाट आएको समूहले स्थानीयको घरमा लुटपाट गर्दै वन्यजन्तु र जडिबुडी तस्करी गरेको कागजसमेत तयार गर्दै जेठ ८ गते भित्र लाम्पाटा छोड्ने उर्दी जारी गरेका थिए।
हुम्लाबाट आएको समूहले लाम्पाटाका स्थानीयलाई कुटपिट गर्दै जेठ ६ गतेसम्म बन्धकसमेत बनाएको दाबी गरिएको छ। उक्त घटनामा संलग्न भएका र पहिचान खुलेका २३ जना विरुद्ध भने जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दर्ता भएको हिमाली गाउँपालिकाका अध्यक्ष मल्लले बताए।
जिल्ला प्रहरी कार्यालय बाजुराले पनि २३ जना व्यक्तिको नाममा उजुरी दर्ता भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता नरेश शाहीले लाम्पाटा घटनामा संलग्न भनिएका २३ जना विरुद्ध आइतवार नै उजुरी दर्ता भएको जानकारी दिए। उनले उजुरी दर्ता भएका व्यक्तिको पहिचान भने खुलाउन नमिल्ने बताए।
जेठ ३ गते भएको घटनामा संलग्न कसैलाई पनि प्रहरीले नियन्त्रणमा नलिएको भन्दै हिमाली युवा सञ्जालले आपत्ति जनाएको छ। तर, जिल्ला प्रहरी कार्यालय हुम्लाले भने लाम्टाटा घटनामा संलग्न भएकाहरुको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको जनाकारी दिएको छ।