दार्चुलास्थित महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ
दार्चुला: दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने मोटरेबल पुल सञ्चालनमा ढिलाइ भएको छ । नेपालतर्फको १३० मिटर मुख्य सडक निर्माणसमेत अन्तिम चरणमा रहेका बेला मोटरेबल पुल सञ्चालनमा ढिलाइ भइरहेको स्थानीयले बताएका छन् ।
नेपालतर्फको सडक निर्माण गरिरहेको निर्माण कम्पनीका सबइन्जिनियर दौलतसिंह गन्डीका अनुसार सडकमा कङ्क्रिटको मात्रै काम गर्न बाँकी रहेको र यो केही दिनमै पूरा हुने छ ।
नेपाल सरकार र भारत सरकारको सहमतिमा नेपालको महाकाली नगरपालिका–८, असिगडा र भारतको धार्चुला तहसिल अन्तर्गत पर्ने छारछुम क्षेत्रमा ११० मिटर लम्बाइको दुई लेनको मोटरेबल पुल निर्माण गरिएको हो । स्थानीय नरेश भट्टले निर्माण पूरा भइसकेको पुल सञ्चालन गर्नुपर्ने बताए।
यहाँको व्यापार, पर्यटन क्षेत्रलाई माथि उठाउन दुई देशको सीमामा बनेको पुल यथाशीघ्र सञ्चालन गर्नुपर्ने उनकाे माग छ । दार्चुलाका प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले पुल सञ्चालनका लागि पहल गर्ने बताए।
पुलको आर्थिक तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा शिलान्यास गरेका थिए। पुलनजिक पर्ने नेपालतर्फको जग्गा प्राप्तिको काम पूरा भइसकेको तथा भन्सार, क्वारेन्टाइन, सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने संरचना निर्माण हुन बाँकी रहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी दिए। पुल सञ्चालन गर्ने विषयमा स्थानीय प्रशासनमा केन्द्रबाट कुनै जानकारी नआएको उनले बताए।
सम्झौता अनुसार पुल निर्माण २०२३ अक्टोबरमा सक्नुपर्ने भए पनि थप काम गर्नुपर्ने भएपछि निर्माण लम्बिएको सबइन्जिनियर गन्डीले बताए।
पुलको निर्माण भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाबले गरेको थियो । नेपाल–भारत जोड्ने मोटरेबल पुल निर्माणले दुई देशबिचको व्यापारिक, पर्यटकीय र सांस्कृतिक पक्षमा महत्वपूर्ण टेवा पुग्ने दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेशसिंह थापाले बताए।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भारत जोड्न मोटरेबल पुल दार्चुलामा निर्माण भएको हो । पुल सञ्चालनमा आएपछि दार्चुला, बैतडी, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुन सक्ने जिल्ला समन्वय समिति प्रमुख महादेव बडूले बताए।