सुदूर नेपाललाई विश्वसँग जोड्दै

रानीसैन सीमा विवाद प्रदेशसभामा उठ्यो, सुरक्षा र संरक्षणको माग

२०८३ जेठ १२, ०३:५६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशसभामा रानीसैन सीमा विवादको विषय उठेको छ। बाजुरा घटनापछि प्रदेशसभा सदस्यहरूले रानीसैनसम्बन्धी विषयलाई शून्य समयमा उठाएका हुन्।

सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य नरेशबहादुर शाहीले रानीसैन सुदूरपश्चिम प्रदेशको भूमि भएको दाबी गर्दै सरकारी दस्ताबेज र स्थानीय भोगचलनका कागजातले पनि सो कुरा पुष्टि गर्ने बताएका छन्।

शाहीले रानीसैनलाई लिएर केही समूहले सीमा विवादको नाममा कृत्रिम विवाद सिर्जना गरी आक्रमण गरेको आरोप लगाए। उनले च्याचौरमा अस्थायी प्रहरी चौकी स्थापना हुने भएपछि तस्करी तथा चोरी नियन्त्रण हुने डरले यस्तो घटना गराइएको दाबी गरे।

उनले विस्थापितहरूको सुरक्षित पुनःस्थापना, घाइतेको निःशुल्क उपचार, लुटपाट भएको सम्पत्तिको क्षतिपूर्ति तथा दोषीमाथि कारबाहीको माग गरे। साथै, प्रहरी चौकी र सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरी सुरक्षा व्यवस्था मजबुत बनाउन सरकारसँग आग्रह गरे।

त्यसैगरी प्रदेशसभा सदस्य जुनाकुमारी दानीले रानीसैन क्षेत्र परापूर्वकालदेखि बाजुरावासीले भोगचलन गर्दै आएको र सुदूरपश्चिमको महत्वपूर्ण धरोहर भएको उल्लेख गर्दै सो क्षेत्रमा भएको आक्रमण निन्दनीय रहेको बताइन्। उनले रानीसैनलाई संरक्षित क्षेत्र बनाएर पर्यटकीय विकास गर्नुपर्ने धारणा राखिन्।

कमेन्ट लोड गर्नुस