पूर्वाधार मन्त्रालयमा कर्मचारी धम्क्याउँदै रकम माग्ने व्यक्ति पक्राउ
काठमाडौँः पूर्वाधार विकास मन्त्रालयमा अनधिकृत रूपमा प्रवेश गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने तथा रकम माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्व सूचना तथा जानकारीबिना मन्त्रालय प्रवेश गरी सचिवको कार्यकक्षमा हुलहुज्जत गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको जनाएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कालिकोट जिल्ला साविक मान्म गाविस–५ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बस्दै आएका ३५ वर्षीय उपेन्द्र कुमार शाही रहेका छन्।
उनीमाथि मन्त्रालयको सचिवको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गर्ने, बाहिर जान अनुरोध गर्दा अश्लील शब्द प्रयोग गर्दै धम्की दिने तथा आपराधिक उपद्रव गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
काठमाडौँ जिल्ला अदालतबाट आपराधिक लाभ लिन नहुने कसुरअन्तर्गत पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन्।