सुदूर नेपाललाई विश्वसँग जोड्दै

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

२०८३ जेठ १४, ०१:३६ रासस

काठमाडौँ: सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्रगति विवरणअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्घीयस्तरमा सञ्चालन गरेका आयोजनाबाट सिँचाइ सुविधा १५ लाख ९० हजार ३८८ हेक्टरमा पुगेको छ।

सिँचाइयोग्य भूमिमध्ये पाँच लाख ३२ हजार ६५५ हेक्टरमा वर्षभरनै सिँचाइ सुविधा उपलब्ध भएको छ। वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध गराउनका लागि सरकारले केही ठूला र महत्वपूर्ण आयोजनाहरु अगाडि बढाएको छ।

मन्त्रालयका अनुसार, भूमिगत सिँचाइ आयोजनाबाट पाँच लाख ४६ हजार ४४८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ।

लिफ्ट र जलाशय सिँचाइ कार्यक्रमबाट  छ हजार ८८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ। ठूला तथा मझौला नदीमा एक हजार ५१८ किमी तटबन्ध निर्माण साथै तटबन्ध निर्माणबाट जम्मा १३ हजार ८९१ हेक्टर जग्गा उकास भएको छ।

भूमिगत सिँचाइ आयोजनाबाट १० लाख ३७ हजार ८४८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभागतर्फ १९२ जलमापन केन्द्र र ३५५ मौसममापन केन्द्र स्थापना र सञ्चालन भएको छ।

नदी कटान डुबान तथा पहिरोको जोखिम व्यवस्थापनका लागि महाकाली, कर्णाली, नारायणी, कोशीलगायतका ठूला नदीमा नदी नियन्त्रण कार्यक्रमका लागि चालु आवमा रु पाँच अर्ब ५९ करोड विनियोजन गरिएको छ।

सोमध्ये महकाली– दार्चुला, कर्णाली, नारायणी, बबई भादा औरही, खाँडो, त्रियुगा, कोशी बक्राहालगायतका नदीमा एक हजार ४९४ दशमलव ७१ किलोमिटर तटबन्ध निर्माण भएको छ।

चालु आवको फागुन मसान्तसम्म १५ वटा जोखिमयुक्त बजारको संरक्षण एवं बचावटका कार्यहरु जारी रहेको मन्त्रालयले जनाएको छ। जोखिमयुक्त पहिरो पहिचान गरी अध्ययन तथा अनुसन्धान गरी विभिन्न ५३ स्थानमा पहिरो व्यवस्थापन कार्य जारी छ। त्यस्तै, १२ वटा बेसिन गुरुयोजना तयार गरी तीन हजार १६४ वटा लिफ्ट सिँचाइ विस्तार भएको छ।

दुई हजार ५५७ हेक्टर सतह सिँचाइको मर्मतसम्भार भएको छ भने १७४ हेक्टर नयाँ सतह सिँचाइ प्रणाली विस्तार भएको छ।

कमेन्ट लोड गर्नुस