सुदूर नेपाललाई विश्वसँग जोड्दै

दैजी–बेलडाँडी निकुञ्ज सडक : आवतजावत सहज बनाउन माग

२०८३ जेठ १४, ०५:३१ खबर संवाददाता

कञ्चनपुर: मङ्गलबार साँझ दैजी–बेलडाँडी हुलाकी सडकखण्डमा बाघको आक्रमणबाट चार जना गम्भीर घाइते भएपछि प्रतिनिधि सभा सदस्य जनकसिंह धामीले सम्बन्धित निकायबाट उनीहरूको निःशुल्क उपचार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।   

मङ्गलबार साँझ महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाने क्रममा कालिकिचभन्दा करिब दुई किलोमिटर निकुञ्ज क्षेत्रको हुलाकी सडकमा बाघले आक्रमण गर्दा मोटरसाइकलचालक बेलौरी नगरपालिका–९, खजुवाका वीरेन्द्र ठगुन्ना, उहाँका श्रीमती कल्पना ठगुन्ना, अढाई वर्षीय छोरा रियान्स र उहाँका १४ वर्षीय भान्जी आरुसी साहु गम्भीर घाइते भएका थिए। 

घाइतेको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख चन्द्रशेखर चौधरीले भने, “निकुञ्जभित्र यात्राको दायित्व स्वयं यात्रुको भएकाले त्यसमा निकुञ्जले कुनै सहयोग उपलब्ध गराउन सक्दैन ।’’ यसैबिच बुधबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद धामीले बाघको आक्रमणबाट गम्भीर घाइते चारै जनाको उपचार खर्च निकुञ्ज कार्यालयले बेहोर्नुपर्ने तथा सो क्षेत्रमा आवतजावत सहज बनाइनुपर्ने माग गरे।

निकुञ्जबाट वितरण हुने राहतको प्रव्रिmयालाई प्रभावकारी बनाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले यो मानव र वन्यजन्तुबाट सिर्जित घटना भएकाले सम्बन्धित निकायबाट उपचारको व्यवस्था मिलाउन माग गरे। 

त्यसै गरी निकुञ्ज क्षेत्रमा रहेको १५ किलोमिटर हुलाकी सडकमा यात्रा गर्दा सञ्चार सुविधासमेत अवरुद्ध हुँदै आएकाले जङ्गल क्षेत्रमा सञ्चारको पहुँचको व्यवस्था गर्न पनि प्रतिनिधि सभा सदस्य धामीले सरकारसंँग माग गरे। १५ किलोमिटर सडक क्षेत्रमा यात्रा गर्दा जोखिम बढ्दै गएको भन्दै स्थायी रूपमा सुरक्षा पोस्टको व्यवस्था मिलाउन तथा पाँच सय मिटर निकुञ्ज क्षेत्रलाई सामुदायिक वनक्षेत्र घोषणा गर्न पनि उनले सरकारसँग माग गरे।

दैजी–बेलडाँडी जोड्ने एक मात्रै सडक भएकाले निकुञ्ज क्षेत्रमा स्थानीय त्रासपूर्ण यात्रा गर्न बाध्य छन् । १५ किलोमिटर निकुञ्ज क्षेत्रको हुलाकी सडकखण्डमा बाघ, जङ्गली हात्ती, चितुवा, गैँडाको दिउँसै चहलपहल देखिने गरेको छ । सडक तथा नहर छेउछाउमा झाडी, पोथ्रा बढेकाले पनि मोडमा वन्यजन्तु अचानक निस्कँदा यात्रु उच्च जोखिममा पर्ने गरेका छन् ।     

कमेन्ट लोड गर्नुस