सगरमाथा दिवसः विश्वसामु नेपालको गौरव र हिमाली पर्यटनको
काठमाडौँः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज यहाँ विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ।
सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तरराष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ। पर्यटन विभागका अनुसार आठ हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। विश्वका १४ वटा अग्ला हिमालमध्ये आठ वटा नेपालमा छन्।
सन् २०२१ मा नेपाल र चीनले संयुक्त रूपमा गरेको पुनःमापनअनुसार सगरमाथाको उचाइ आठ हजार ८४८ दशमलव ८६ मिटर निर्धारण भएको छ। यस दिवसका अवसरमा सरकारी निकाय, पर्यटन व्यवसायी, पर्वतारोहणसम्बन्धी सङ्घसंस्था तथा स्थानीय तहले हिमाली पर्यटन, सुरक्षित पर्वतारोहण र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरेका छन्। जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लिने, हिमतालको जोखिम बढ्ने तथा वातावरणीय प्रभाव देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन्।
पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र विदेशी मुद्रा आर्जनको महत्वपूर्ण आधार मानिन्छ। प्रत्येक वर्ष विश्वका विभिन्न मुलुकबाट हजारौँ पर्यटक तथा पर्वतारोही नेपाल आउने गरेका छन। सगरमाथा आरोहणले नेपाललाई विश्व पर्यटन नक्सामा विशेष पहिचान दिलाउन महत्वपूर्ण योगदान पु¥याएको मानिन्छ। यस अवसरमा नेपाल पर्वतारोहण सङ्घले हिमाली क्षेत्रको दिगो संरक्षण, स्वच्छता, सुरक्षित आरोहण र स्थानीय समुदायको जीवनशैली जोगाउन सबै पक्षको साझा प्रयास आवश्यक भएको जनाएको छ।