सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीटुपी लेनदेन नियमन गरिने, व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू हुने

२०८३ जेठ १६, १२:०४ खबर संवाददाता

काठमाडौँः सरकारले अब एक व्यक्तिबाट अर्को व्यक्तिको बैंक खाता वा डिजिटल वालेटमार्फत हुने रकम ट्रान्सफरलाई व्यवस्थित र नियमन गर्ने नीति अघि सारेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘पियर टु पियर’ (पीटुपी) लेनदेनलाई स्पष्ट मापदण्ड र नियमनको दायराभित्र सञ्चालन गरिने घोषणा गरेका हुन्।

बजेट वक्तव्यअनुसार सरकारले पीटुपी लेनदेनलाई सुरक्षित, पारदर्शी र जिम्मेवार बनाउने उद्देश्यले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्नेछ। यस प्रणालीमार्फत व्यक्तिको आर्थिक कारोबार, ऋण लिने र तिर्ने अवस्था, समयमै भुक्तानी गर्ने बानी तथा समग्र वित्तीय व्यवहारका आधारमा उसको वित्तीय विश्वसनीयता मूल्यांकन गरिनेछ।

सरकारको विश्वास अनुसार क्रेडिट स्कोरिङ प्रणाली लागू भएपछि अनियन्त्रित लेनदेन नियन्त्रणमा आउने, वित्तीय जोखिम घट्ने र डिजिटल भुक्तानी प्रणालीमा जनविश्वास बढ्ने अपेक्षा गरिएको छ। साथै, यसले भविष्यमा ऋण पहुँच, ब्याजदर निर्धारण र वित्तीय सेवामा पारदर्शिता कायम गर्न सहयोग पुग्ने सरकारको दाबी छ।

पीटुपी लेनदेनको बढ्दो प्रयोगसँगै सम्भावित दुरुपयोग, ठगी तथा अवैध कारोबार रोक्न यो व्यवस्था प्रभावकारी हुने अर्थ मन्त्रालयको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस