सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्याङ्ककमा नेपाल–थाइल्याण्ड पर्यटन प्रवर्द्धन कार्यक्रम

२०८३ जेठ १६, ०२:५६ रासस

काठमाडौँः मुलुकम अधिकभन्दा अधिक थाई पर्यटक भित्र्याउने उद्देश्यले शुक्रबार ब्याङ्ककमा त्यहाँका पर्यटन व्यवसायीहरुबीच छलफल कार्यक्रम आयोजना गरिएको छ। 

त्यस अवसरमा थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले नेपाल र थाइल्याण्डबीचको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा जनस्तरको गहिरो सम्बन्धलाई थप बलियो बनाउन पर्यटनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। 

उक्त दूतावासका अनुसार व्यवसायीहरुलाई नेपालका पर्यटन गन्तव्य, बौद्ध तीर्थस्थल, हिमाली साहसिक पर्यटन, प्रकृति तथा सांस्कृतिक सम्पदाबारे विस्तृत जानकारी दिइएको थियो। 

कार्यक्रममा सहभागी व्यवसायीहरूले नेपाललाई थाई पर्यटकहरूका लागि आकर्षक, सहज पहुँचयोग्य तथा बहुआयामिक पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेका थिए। 

नेपाल भ्रमणका विविध सम्भावनाहरू, विशेषगरी लुम्बिनी, जनकपुर, काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्र, सगरमाथा क्षेत्र, अन्नपूर्ण पदमार्ग, वन्यजन्तु पर्यटन, योग तथा आरोग्य पर्यटन, विवाह पर्यटन, चलचित्र पर्यटन र पर्वतीय साहसिक गतिविधिबारे  विस्तृत जानकारी दिइएको थियो।

तेह्र वर्षअघि ४० हजार ९६९ पर्यटक थाइल्याण्डबाट नेपाल आएकामा गत वर्ष ३० हजार २४३ थाई पर्यटकले नेपाल भ्रमण गरेका तथ्याङ्क प्रस्तुत गर्दै नेपाली व्यवसायीहरुले आफ्ना थाई समकक्षीहरुलाई नेपालका पर्यटककीय आकर्षक गन्तव्यबारे जानकारी दिन र भ्रमणका निम्ति प्रेरित गर्न अनुुरोध गरेका थिए।

नेपालबाट होटल दुसित प्रिन्सेस, आलोफ्ट, होटल रोयल सिङ्गी लगायत होटल व्यवसायी, कर्णाली  र्‍याफ्टिङ, माउण्टेन रुट्स, काठमाडौँ होलिडे टुर्स एन्ड ट्राभल, पुमोरी जर्नी, हिमालयन होलिडेस, एडभेञ्चर एक्स, लापारा डी टुर, एपेक्स हिमालयन ट्रेक्स एन्ड एक्सपिडिसन्स, प्रजेक्ट उद्देश्य, द पेभिलियन हिमालयस द फार्म, हिमालय  ट्रेजर्स ट्रेकिङ, हिमालयन जर्नी, बाराङ भिलेज कम्युनिटी होमस्टे, कोर ट्रेक्स, नेपाल एयरलायन्स, बुद्ध एयरलगायत १८ वटा प्रतिष्ठित पर्यटनसम्बन्धी कम्पनी तथा संस्थाहरू र थाइल्याण्डका ६३ वटा पर्यटनसम्बन्धी कम्पनीका १०० जना भन्दा वढी प्रतिनिधिहरुको सहभागिता थियो।  

प्रस्तुत कार्यक्रमका माध्यमबाट दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्न, नयाँ साझेदारीको सम्भावना पहिचान गर्न तथा पर्यटन प्रवद्र्धनका लागि सहकार्यका अवसर पहिल्याउन मद्दत पुग्ने विश्वास दूतावासले व्यक्त गरेको छ। 

कमेन्ट लोड गर्नुस