प्रतिनिधिसभा बैठक सुरु, नियमावली पारित गर्ने कार्यसूची
काठमाडौँ: प्रतिनिधिसभाको बैठक निर्धारित समयमन्दा २५ मिनेट ढिला सुरु भएको छ। सभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने सम्भावित कार्यसूची छ।
बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘समितिको प्रतिवेदन, २०८३ माथि दफावार छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
उक्त प्रतिवेदनमाथि प्राप्त संशोधनहरुलाई पारित गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले राससलाई जानकारी दिए।
प्रतिनिधिसभाको गत चैत २३ गतेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पराजुलीको संयोजकत्वमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसद सम्मिलित १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको थियो।
समितिमा ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला शमीम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधुकुमार चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल थिए।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तरराष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं ८१) र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ पेस गर्ने संसद् सचिवालयले जनाएको छ।