‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको भनाइप्रति कांग्रेसको आपत्ति
काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको भन्ने अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा आपत्ति जनाएको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले लिपुलेक, लिम्पियाधुरालगायतका सीमा विवाद समाधानका लागि प्रयास भइरहेको उल्लेख गर्दै आफू प्रधानमन्त्री बनेपछि नेपालले पनि भारतीय सीमा मिचेको जानकारी पाएको बताएका थिए।
‘म प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ, नेपालले पनि भारतको सीमा मिचेको रहेछ,’ प्रधानमन्त्री शाहले संसदमा भने।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति कांग्रेसकी प्रमुख सचेतक वासना थापाले आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जानकारी दिन माग गरिन्। उनले नेपालले भारतको कुन–कुन क्षेत्रमा सीमा अतिक्रमण गरेको हो भन्ने तथ्य संसदलाई जानकारी गराउन आग्रह गरिन्।
थापाले पर्याप्त आधार र प्रमाण प्रस्तुत गर्न नसके उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षणसमेत गराइन्।
‘यस विषयमा सदनलाई थप जानकारी गराइयोस्। अन्यथा गलत अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउँछु,’ उनले भनिन्।