सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाँदर आतङ्कले बैतडीका खेतबारी बाँझिँदै

gorkhapatra
gorkhapatra
२०८३ जेठ २१, ०१:५७ खबर संवाददाता

बैतडी: एक समय हरियालीले भरिभराउ रहने बैतडीका गाउँ–बस्तीका खेतबारी अहिले क्रमशः बाँझिन थालेका छन्। मुख्य कारण बनेको छ बाँदरको बढ्दो आतङ्क। बिहानदेखि साँझसम्म समूहमा खेतबारी पसेर बाँदरले बालीनाली नष्ट गर्न थालेपछि किसान खेतीपातीबाट निरुत्साहित भएका छन्।

वर्षभरि मेहनत गरेर लगाएको बाली पाक्न नपाउँदै बाँदरले सखाप पार्न थालेपछि कृषिप्रति आकर्षण घट्दै गएको स्थानीयको भनाइ छ। जिल्लाका अधिकांश गाउँमा बाँदरको समस्या बढ्दै जाँदा खेतीयोग्य जमिन प्रयोगविहीन बन्न थालेको छ।

दशरथचन्द नगरपालिका–४ का दिलाराम भट्टका अनुसार केही वर्षअघिसम्म फलफूल, तरकारी तथा अन्नबालीले भरिने सदरमुकाम गोठालापानी आसपासका खेतबारी अहिले बाँझिन थालेका छन्। “बाली लगाउँदा बाँदरले नष्ट गर्छ, पाकेपछि पनि जोगाउन सकिँदैन,” उनले भने।

पाटन नगरपालिका–३ की निर्मला भट्टले बाँदर आतङ्कले गाउँको स्वरूप नै फेरिएको बताइन्। उनका अनुसार १८ रोपनी खेतमध्ये अधिकांश जमिन अहिले प्रयोगविहीन बनेको छ। “पहिले एक सिजनमा पाँच–छ लटसम्म मकै फल्थ्यो, तर चार वर्षदेखि मकै लगाउन छाडेकी छु,” उनले सुनाइन्।

स्थानीयका अनुसार बाँदरले बाली उम्रिन थालेदेखि नै खेतमा पसेर बोट उखेल्ने, बाला च्यात्ने र पाकेका फलफूल नष्ट गर्ने गर्छन्। खान नसके पनि बाली तहसनहस पार्ने प्रवृत्तिले किसान थप समस्यामा परेका छन्। घर नजिकका बारी जोगाउन परिवारका सदस्य पालैपालो कुरुवा बस्नुपर्ने अवस्था रहेको छ।

सुर्नया गाउँपालिका–३ का नरेन्द्र धामीका अनुसार खेतीबाट हुने उत्पादनभन्दा क्षति बढी हुन थालेपछि धेरै किसानले जमिन बाँझै छाड्न थालेका छन्। मकै, कोदो, धानसँगै लसुन, प्याज, आरु, घिरौँला र चिचिन्डाजस्ता बाली पनि बाँदरले नष्ट गर्ने गरेको उनले बताए।

दोगडाकेदार, शिवनाथ, सुर्नया, पञ्चेश्वर, मेलौली, पाटन र दशरथचन्दलगायत स्थानीय तहमा बाँदरका कारण खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दो छ। स्थानीयका अनुसार खेती गर्न नसकेर करिब १,२०० घरधुरी गाउँ छाड्न बाध्य भएका छन्।

मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टका अनुसार किसानहरू अहिले बाँदरले कम क्षति पुर्‍याउने बालीको खोजीमा छन्। मकै, कोदो र तरकारी जोगाउन कठिन भएपछि धेरै किसान हल्दो खेतीतर्फ आकर्षित हुन थालेका छन्।

बाँदरले बालीनाली मात्र होइन, मानिसमाथि समेत आक्रमण गर्न थालेका छन्। खेतबाट लखेट्न जाँदा कतिपयलाई टोक्ने गरेको स्थानीय बताउँछन्। केही स्थानमा घरभित्र भण्डारण गरिएको मकैसमेत बाँदरले झिकेर लैजाने गरेको गुनासो छ।

स्थानीयका अनुसार केही वर्षअघिसम्म फाट्टफुट्ट देखिने बाँदर अहिले ठूलो समूहमा देखिन थालेका छन्। वन क्षेत्र विस्तार, गाउँबाट बसाइँसराइ र खाद्यान्नको खोजीमा बाँदर बस्ती नजिक आउन थालेपछि समस्या झन् जटिल बनेको सरोकारवालाहरूको भनाइ छ।

बाँदर आतङ्कका कारण कृषि उत्पादन घट्दै जाँदा गाउँको अर्थतन्त्र र खाद्य सुरक्षामा समेत असर पर्न थालेको छ। स्थानीयले प्रभावकारी नियन्त्रण योजना ल्याउन माग गर्दै आएका भए पनि हालसम्म ठोस कार्यक्रम कार्यान्वयन हुन सकेको छैन। जनप्रतिनिधिहरूले विभिन्न वडाबाट गुनासा आइरहेकाले समाधानका उपायबारे छलफल भइरहेको बताएका छन्।

हरियालीले ढाकिने बैतडीका फाँटहरू बाँदर आतङ्कका कारण उजाडिँदै जानु जिल्लाको कृषि क्षेत्रका लागि गम्भीर चिन्ताको विषय बनेको छ।

गाेरखापत्रबाट
 

कमेन्ट लोड गर्नुस