ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
नवलपुर: पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुलीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
देवचुली नगरपालिका–१४, प्रगतिनगरमा कावासोतीबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख १७५७ नम्बरको ट्रकको टायर पड्किएपछि सडक किनारमा रोकेर मर्मत गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ग १० प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार मध्यबिन्दु नगरपालिका–१ निवासी ५१ वर्षीय ओमनारायण गुरौ (थारु) गम्भीर घाइते हुनुभएको थियो। उहाँको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो।
दुर्घटनामा घाइते मोटरसाइकल चालक भारतका २६ वर्षीय विशालकुमार श्रीवास्तवको भरतपुरमा उपचार भइरहेको छ। प्रहरीले ट्रक चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१०, भुताहा निवासी ५२ वर्षीय भीमबहादुर पुनलाई नियन्त्रणमा लिएको जनाएको छ।