सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वच्छ वातावरणका लागि सबैको जिम्मेवारी आवश्यक

तस्बिर : चाँदनी आचार्य (गाेरखापत्र)
तस्बिर : चाँदनी आचार्य (गाेरखापत्र)
२०८३ जेठ २२, ०५:३१ खबर संवाददाता

कैलालीः वातावरण स्वच्छ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा सरोकारवालाहरुले राखेका छन्।  ५४ औं  विश्व वातावरण दिवसको अवसरमा कैलालीको सुखडमा आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा राखेका हुुन्।

विश्व वातावरण दिवस २०२६ को नारा ‘हाम्रो भविष्य, हाम्रो जलवायु, सबै प्रकृतिबाट प्रेरित छ’ रहेको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संघद्वारा आयोजित स्वच्छ वातवरण र मानवअधिकार विषयक अन्तरक्रिया कार्यक्रममा अधिवक्ता पुष्पविक्रम शाहीले स्वच्छ वातावरण र वातावरण संरक्षणको विषयमा बलियो कानुन भए पनि कार्यन्वयन पक्ष फितलो भएको बताए। 

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने व्यवस्था गरेको छ । अधिवक्ता शाहीले वातावरणीय प्रदुषणबाट हुने क्षतिबापत पीडितलाई प्रदुषण गर्ने पक्षबाट कानुन बमोजिम क्षतीपूर्ति पाउने हकको व्यवस्था गरिए पनि कार्यान्वयन हुन नसकेको बताए। 

नेपालमा वातावरण संरक्षण ऐन २०७६, नियमावली २०७७ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा वातावरण संरक्षण र स्वच्छ वातावरणका विषयमा व्यवस्था भएको कानुनी व्यवस्थाका विषयमा शाहीले जानकारी गराए। 

कार्यक्रममा गैर सरकारी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवीदत्त  खनालले पृथ्वी, प्रकृति र मानव अस्तित्वको सम्वन्ध रहेको बताए। भविष्यका सन्ततिका लागि पनि वातावरण संरक्षणमा सबैको भूमिका हुनुपर्ने उनले बताए। 

सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका सदस्य मैनादेवी ढकालले स्थानीय तहले फोहर व्यवस्थापनका लागि दिगोरुपमा काम गर्न नसकेको बताए। उनले फोहर व्यवस्थापनका लागि मासिक शुल्क बुझाउन जनता तयार भए पनि समयमा फोहर नउठाउने, व्यवस्थापनका लागि उचित ठाउँको व्यवस्थापन गर्न नसकेको बताए। 

अन्तरक्रिया कार्यक्रममा विभिन्न सामुदायिक वन, विद्यालय, संघ संंस्थाका प्रतिनिधिका साथै जनप्रतिनिधिहरुको उपस्थिति थियो । घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले वातावरण संरक्षण सरकारकोक मात्र दायित्व नभएर नागरिकको पनि दायित्व रहेको बताए। 

इन्सेकका सुदूरपश्चिम संयोजक खडक जोशीले राज्य र नागरिकविचको अन्तरसम्बन्ध मानवअधिकारसँग रहेको बताए। सरकार, नागरिक दुवै पक्षले आफ्नो ठाउँबाट बातावरण संरक्षणमा सहयोग पुग्ने काम गर्नुपर्ने उल्लेख गरे। मानव अधिकार समूह घोडाघोडीका अध्यक्ष आशा परियारले वन, नदी, हिमाल र जैविक विविधता संरक्षण आजको आवश्यकता रहेको बताए। 
 

कमेन्ट लोड गर्नुस