सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्राफिकसँग हातपातपछि पूर्व मुख्यमन्त्री सोडारी सवार मोटरसाइकलका चालक पक्राउ

२०८३ जेठ २३, ०८:१९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार मोटरसाइकल ट्राफिक प्रहरीको चेकिङमा परेको छ। चेकिङका क्रममा ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

शुक्रबार साँझ सोडारीसहित तीन जना सुपप्र ०१०१० प ७२७२ नम्बरको मोटरसाइकलमा सवार भएर घरतर्फ जाँदै गरेका थिए। सोही क्रममा धनगढीको शिवनगर क्षेत्रमा ट्राफिक प्रहरीले उक्त मोटरसाइकल रोकेको थियो।

प्रहरीका अनुसार चेकजाँचका क्रममा मोटरसाइकल चालक जोशीपुर गाउँपालिका–३ का ५० वर्षीय शिवराज विनाडीले ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान खगेन्द्र तिमिल्सिनामाथि हातपात गरेका हुन्। चिट काट्ने क्रममा विनाडीले हेल्मेटले प्रहार गरेको आरोप प्रहरीले लगाएको छ।

घटनापछि विनाडीलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तर मोटरसाइकलमा सवार पूर्वमुख्यमन्त्री सोडारीसहित अन्य दुई जना भने घटनास्थलबाट निस्किएका थिए।

कार्यस्थलमै प्रहरी कर्मचारीमाथि हातपात भएको भन्दै प्रहरीले विनाडीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने बताएको छ।

कमेन्ट लोड गर्नुस