सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेट निर्माणकाे अन्तिम तयारीमा प्रदेश सरकार

२०८३ जेठ २५, ०५:३८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकार बजेट तयारीको अन्तिमतिर पुगेको छ । प्रदेशले आगामी आर्थिक वर्षको बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था भएकाले बजेट तयारीको कार्य लगभग अन्तिममा पुगेको हो । सबै मन्त्रालयहरूले बजेट तयारी गरिरहेकोे आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताए।  

उनका अनुसार मन्त्रालयगत रूपमा बजेट बनाउने कार्य भइरहेका छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको बजेट ३३ अर्ब ४५ करोड ५१ लाख रुपियाँ रहेको छ । 

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ सरकारबाट कम बजेट आएकोले आगामी आर्थिक वर्षको बजेट घट्न सक्ने राज्यमन्त्री बमको भनाइ छ । उनले सम्पन्न हुन नसकेका अधुरा योजनालाई प्राथमिकता दिनेगरी बजेट बनिरहेको उल्लेख गरे। 

सङ्घबाटै कम बजेट आएकाले प्रदेशको बजेट बढ्ने सम्भावना नरहेकाे उनले बताए। “जहाँसम्म बजेटको आकार पहिलेको तुलनामा सानो हुन्छ ” उनले भने।  प्रदेश सरकारले अधुरा आयोजना सम्पन्न गर्न बाहेक २५ लाख रुपियाँभन्दा कम लागतका विकास आयोजनाहरूमा बजेट विनियोजन नगर्ने नीति तथा कार्यक्रममै उल्लेख गरिसकेको छ । 

२५ लाखभन्दा कम लागतका आयोजनाहरू कार्यान्वयन गर्नुपर्ने अवस्था भएमा वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहबाट कार्यान्वयन हुने नीति लिइने जनाइएको छ । यसैगरी, सरकारले उपभोक्ता समितिमार्फत प्रदेशको कुनै पनि योजना कार्यान्वयन नगर्ने, व्यक्ति, फर्म लगायतको नाममा बजेट विनियोजन नगर्ने नीति अबलम्वन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

केही दिन अगाडि प्रदेश सभामा बोल्दै आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सबैको सहभागितामा बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।  

कमेन्ट लोड गर्नुस